शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

सात मुख्यमन्त्रीहरुलाई खुल्ला पत्रः माननीयहरु के गर्दैहुनुहुन्छ ?


  • बुधबार, चैत्र १९ २०७६
29.4K
SHARES

यतिखेर विश्व गम्भिर स्वस्थ्य संकटको भूमरीमा फसेको छ । युरोपका कैयौँ शक्तिशाली राष्ट्रहरु र अमेरिका समेत नराम्ररी कोरोनाको क्रुर आक्रमणमा परेका छन् । कोरोनाको उद्गम स्थलबाट समिप मै रहेको, कमजोर स्वस्थ्य सुविधा तथा व्यवस्था भएको हाम्रो देश नेपाल पनि कदम कदममा खतरा उन्मुख छ । नेपाली जनता चिन्तित छन् । यतिखेर विश्वमा तिव्रगतिमा फैलिरहेको संक्रमण र मृत्युदर हेर्दा स्वभाविक रुपमा सबैको मन विचलित छ ।

नेपालमा पर्नसक्ने खतरा र त्यस विरुद्ध लड्ने तयारी हेर्दा सन्तोषजनक छैन् । माघमा नेपालमा पहिलो कोरोना केस बाहिर आयो । तर, त्यसका एक महिना पछि फागुन मात्र उपप्रधानमन्त्रीको नेतृत्वमा बल्ल उच्च स्तरीय समिति बन्यो । त्यसपछि तयारीहरु धेरैजसो कागजमा मात्र हुँदै गए । कार्यन्वयन अत्यन्तै फितलो भयो । यसबाट सत्ताको बागडोर समालेकाहरुको काम गर्ने ल्याकत र हेलचेक्रायाईँ प्रष्ट थाहा हुन्छ । अहिले देख्दा अलि गतिलो कदम चाँहि देशलाई लकडाउन गर्ने भएको छ । तर, दिउँसो मात्र बन्द हो । राती त खुल्ला नै छ । मध्यरातमा जनताहरु आरामले ओहोर दोहोर गरिरहेका छन् । अर्काे तर्फ बाहिरबाट आएकाहरुका रेकर्ड ट्रेसिङ, सम्भावितहरुको परिक्षण, उपचार शैली लगायत तत्काल गर्नुपर्ने अति महत्वपूर्ण कार्य सम्पादन हेर्दा हरेस लाग्छ । एक त हामीसँग आवश्यक सामाग्रीहरु छैन त्यसमाथि अत्यन्तै सुस्त गतिमा कामहरु भइरहेका छन् । यतिबेला त युद्धस्तरमा र आक्रमक ढंगले काम हुनुपर्ने हो ।

यसरी विकराल अवस्थाको सम्मुख उभिरहेको देशको पहिलो सातजना मुख्यमन्त्रीहरु यतिखेर के गर्दै हुनुहुन्छ भनेर बुझ्न मन लाग्यो । छाती खोलेर, औँला ठडयाएर चर्काे स्वरमा तपाईँहरुको भाषण नसुनेको पनि निकै भयो । सबै सामसुम छ । तपाईँहरुलाई पनि खल्लो लागिरहेको होला । खैर, अहिलेलाई यतातिर छोडौँ । अहिलेको विकाराल स्वस्थ संकटलाई मोचन गर्न तपाईँहरु आ–आफ्नो प्रदेशमा के के गर्दैहुनुहुन्छ ? जनताले सोधेका छन् । एक जिम्मेवार नागरीकको हैसियतले तिनै कुराहरु बुझ्न र केही महत्वपूर्ण कुरा बुझाउन पनि सबै प्रदेशको जनताको भावनालाई छोएर यो सानो खुल्ला पत्र लेख्दैछु । पत्र पाएपछि तपाईँहरुले आवश्यक कारवाही पनि अघि बढाउनुहुनेछ भन्ने विश्वास छ ।

मुख्यमन्त्रीज्यूहरुलाई थाहै छ छिमेकी राष्ट्र भारतमा पनि विस्तारै संक्रमणको गति बढ्दै छ । त्यहाँ पनि अहिले देश लकडाउनमा छ । यो विषम परिस्थीतीमा पनि दिल्लीका मुख्यमुन्त्री अरविन्द केजरीवाल भने आफ्नो कामले चर्चामा छन् । उनले हरेक दिन साँझ दिनभरका घटनाक्रमहरु, कोरोना केस, जनतालाई दिइने सुविधाहरु लगायतका बारेमा प्रत्येक्ष डिजिटल प्रेस मिट गरीरहेका छन् । जनतालाई आवश्यक सबै सुविधाहरु पु¥याई रहेका छन् । कहाँ के कमजोरीहरु भइरहेका छन् त्यसबारे औल्याईँ दिन मिडियहरुलाई अनुरोध गरिरहेका छन् । कोरोना भन्दा तिव्र गतिमा उनले दिल्लीलाई संक्रमणबाट बचाउन प्रयास गरिरहेका छन् । उनको प्रयास र चासोलाई दिल्लीमात्र होइन सिंगो भारतीय जनतालाई नमन गरीरहेका छन् ।

हाम्रा सप्त मुख्यमन्त्रीज्यूहरुले पनि यो सबै खबरहरु देखिरहनुभएको होला । जनतालाई बताई दिनुहोस कि तपाईँहरुले चाँहि के गर्दै हुनुहुन्छ ? तपाईँका के के योजना र कामहरु भएका छन ? खबरहरुमा चाँहि क्वारेन्टाई बनाउने, राहत कोष खडा गर्ने, कोराना जाँच केन्द्र स्थापना गर्ने, आइसोलेसन वार्ड बनाउने, जनताको ज्वारो नाप्ने… यस्तै यस्तै “गर्ने” मात्र खबरहरु धेरै आइरहेका छन् । कतिपया चाँहि काम गरिसकेको पनि खबरहरु छन् । यि आवश्यक छन् । तर के यतिले मात्र कोरोनाको संकट टर्ला ? तपाईँका जनता सुरक्षित होलान् ? तपाईँहरु कतिको प्रभावकारी र सक्रिय रुपमा लागीरहनु भएको छ ? देशको सामु रहेको दुई महत्वपूर्ण कामहरुः पहिलो कोराना विरुद्धको युद्ध जित्ने र दोश्रो त्यसपछिको अवस्थालाई सही दिशा गर्ने हो । यसबारे के छ तपाईँहरुको योजना ?

अहिले तपाईँहरुको कामको मन्द गति हेर्दा हामी चिन्तित छौँ । भारतसँग खुल्ला नाकाहरु थुप्रै छन् । मुख्य नाकाहरु बन्द भएपनि लुकीछिपी दुबै देशका जनताहरु ओहोर दोहोर गरिरहेका छन् । तिनले दिनप्रतिदिन खतराहरु बढाई रहेका छन् । तपाईँहरु चाँहि खाली केन्द्रको मुख ताकेर मात्र बसीरहनु भएको जस्तो छ । कुनै पनि प्रदेशको मुख्यमन्त्रीले उल्लेख्य र प्रभावकारी कदमहरु चालेको देखिन्न । सुनिन्न । कि मैले थाहा पाइन कि ?
यसो हेर्दा लाग्छ तपाईँहरु झारो टार्न केवल क्वारेन्टाइन, आइसोलेसन र राहत कोष खडा गर्नुमा मात्र केन्द्रित हुनुहुन्छ । ति पनि आवश्यक छन् । तर, त्यो भन्दा अगाडि वाहिरबाट आएका संक्रमणको संभावना बोकेका मानिसहरुको पर्याप्त डाटा खोइ ? तिनीहरुमाथि विशेष निग्रानी खोइ ? आवश्यक जाँच खोइ ? निमोनियाको विरामी कोरोना अस्पतालमा मरीरहेका छन् । कोरोना सन्देहको भुमरी सामन्य विरामीहरु पनि परिरहेका छन् । मौसमी रुघाखोकी, ज्वोरो आएका विरामीहरु अस्पताल छिर्न पाएका छैनन् । विचल्लीमा छन । तिनको सही व्यवस्थापन खोइ ?
सिमाहरुमा जनताको विचल्ली छ । महाकालीको खबर त हेरिरहनु भएको होला । तिनको व्यवस्थापन खोइ ? केटाकेटी, गर्भवती, वुढाबुढीहरु अत्यन्तै खतरापूर्ण अवस्थामा छन् । तिनीहरुको लागि तपाईँहरुको चासो र व्यवस्थापन खोइ ? घरघरमा पढ्ने केटाकेटीहरु अलमलमा छन् । चीनमा सबै बन्दा हुँदा पनि पढाई रोकिएको थिएन भन्ने पनि सुन्नुभएकै होला । शिक्षाको सन्दर्भमा के गर्नुहुन्छ ? किसानहरु खेत पस्न पाएका छैनन ? उनीहरुलाई के गर्नुहुन्छ ? अर्काेतर्फ तपाईँको प्रदेशमा खाद्यान्न, औषधि, ग्यास लगायत अति आवश्यक वस्तुहरुको अवस्था के छ ? दिनरात सडक र अस्पतालमा लागीपरेका सुरक्षाकर्मी तथा डाक्टर नर्सहरुको सन्दर्भमा के छ सुरक्षा ? हरहालतमा जित्नै पर्ने यो खतरनाक कोरोना युद्धको समग्र तयारी मानचित्र के छ ? हामीलाई चाइयो ।

अब तपाईँहरुले केजरीवाललेझैँ एक एक डाटा प्रत्येक दिन आफ्नो जनतालाई प्रत्यक्ष डिजिटल प्रेस मिट गरी जानकारी दिनुप¥यो । यतिखेर जनतालाई चाहिएको सबैभन्दा महत्वपूर्ण कुरा राज्यको हौसला र हिम्मत हो । कोरोना विरुद्धको लडाईँ जित्नको लागि सबैभन्दा महत्वपूर्ण कुरा भनेको हिम्मत र आशा नै हो । राज्यले हिम्मत र आशा जगाउँन सक्नुपर्छ । त्यसको मुख्य जिम्मेवारी तपाईँहरुकै हो । जनतालाई कुइरोको काग झैँ बनाएर तपाईँहरु गुप्तबास बस्न मिल्दैन । त्यो छुट छैन् ।

तपाईँहरु सातै जना मुख्यमन्त्रीलाई महत्वपूर्ण काम गरेर देखाउने ऐतिहासिक अवसर छ । तपाईँहरु पनि जनताझैँ लकडाउनमा बस्नुभएको छ जस्तो हामीलाई भान भएको छ । कृपया जाग्नुहोस् । कृपया उठ्नुहोस् । प्रत्येक दिन साँझ बेलुकी आफ्नो प्रदेशभरीको सबैकुराको जानकारी जनतालाई दिनुहोस् । जनतासित प्रत्येक्ष संवाद गर्नुहोस् । स्कुले विद्यार्थीहरुको लागि अनलाइन पढाईको लागि पहल गर्नुहोस् । बुढाबुढी तथा गर्भवती महिलाहरुको हेरचाहरको लागि विशेष व्यवस्था गर्नुहोस् । खाद्यान्न, औषधि, ग्यास लगायत सबैकुराहरुको यथेष्ट विवरण सहित जानकारी दिनुहोस् ताकी जनता अभावको त्रासमा बस्नुनपरोस् । कालोबजारीको सिकार हुन नपरोस् ।
स्थानीय सरकारलाई अझबढि क्रियशिल र प्रभावकारी बनाउनुहोस् । प्रत्येक दिन आफ्नो प्रदेशको सबै मेयरहरु तथा गाउँपालीका अध्यक्षहरुबाट आवश्यक जानकारी लिनुहोस् । कडा निर्देशन दिनुहोस् । दिनभर भएको उपलब्धि र कमीकमजोरीहरुको बारेमा समिक्षा बैठक गर्नुहोस् । आवश्यक सुधार तत्काल गर्नुहोस् । सिमाहरु तर्फ बढी सर्तकता अपनाउनुहोस् । सुरक्षाकर्मीसँगै आवश्यक परे सुरक्षीतरुपमा स्वयंसेवक युवाहरुलाई परिचालन गर्नुहोस् । मिडियाहरु मार्फत यथेष्ट सुचनाहरु प्रवाह गर्नुहोस् । केही दिन नसुत्नुहोस् । तपाईँहरुलाई यो जनताको निर्देसन र अनुरोध पनि हो । अहिलको आवश्यकता पनि हो । यसलाई ढिलो नगरी बुझ्न आवश्यक छ ।

अन्त्यमा, तपाईँहरु केन्द्र सरकारको आश र भरोसामा मात्र बस्नुहुँदैन । काठमाडौँबाट तपाईँको प्रदेशमा सबैकुराहरु आइपुग्न ढिलो होला । सुस्त होला । विकेन्द्रिकृत एवं जनस्तरमा प्रभावकारी शासन व्यवस्थाको लागि तपाईँहरु मुख्यमन्त्री हुनुभएको हो । यसलाई पक्कै पनि सबैले बुझ्नु भएकै छ । आफ्नो प्रान्तका जनताको लागि तपाईँहरुले बुिद्ध, विवेक र बहादुरी सबै प्रयोग गरेर लड्नुहुने छ र चिन्तित जनतालाई हौसला दिँदै जिताको सुन्दर विहानी तर्फ लैजानुहुनेछ भन्ने पनि आशा गर्दै तपाईँहरुले केही गरेर देखाउने यो सुन्दर अवसरलाई खेर फल्नुहुने छैन भन्ने विश्वासका साथ विट मार्छु । धन्यवाद ।

विवेक विनयी
प्रीन्सिपल, जुगल स्कुलर कलेज, कपन तथा
विद्यालयमा नैतिक शिक्षा सिकाउन तयार पारिएको पुस्तक संस्कार (भाग १-५) का लेखक हुन ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा