काठमाडौँ । नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद भट्टराई (किसुनजी) स्मृतिमा आयोजना गरिएको ‘किसुन जी स्मृति राष्ट्रिय खुला हाफ म्याराथन’ प्रतियोगिता सम्पन्न भएको छ । शनिबार गोल्फुटार स्थित बास्केटबल ग्राउण्डमा विशेष कार्यक्रमको आयोजना गरिएको थियो ।
कार्यक्रम नेपाली कांग्रेसका नेता तथा खेलकुदसंग सरोकार राख्ने विभिन्न व्यक्तिहरुको उपस्थिती रहेको थियो । बिहान ७ बजे म्याराथन प्रतियोगिता उद्घाटन भएको थियो भने बिहानै ९ बजे नै प्रतियोगिता समापन कार्यक्रम सुरु गरिएको थियो ।
नेपाली कांग्रेसको भातृ संगठन नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशले आयोजना गरेको उक्त प्रतियोगिता हरेक वर्ष किसुनजीको सम्झना आयोजना गर्दै आएको छ । सोही निरन्तरता स्वरुप यस वर्ष पनि प्रतियोगिताको आयोजना गरिएको आयोजनकले जनाएको छ ।
कार्यक्रमको सभातित्व नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशका सभापति दीपक गुरुङले गरेका थिए । कार्यक्रमको प्रमुख आतिथ्यतामा नेपाली कांग्रेसका उपसभापति एवं पूर्व मन्त्री धनराज गुरुङ रहेका थिए ।
उक्त तेश्रो किसुन जी स्मृति राष्ट्रिय खुला हाफ म्याराथनको उपाधि एपिएफकी पुष्पा भण्डारी र विजय रावतले जितेका छन्। पुष्पा महिला र विजय पुरुषतर्फ विजयी भएका हुन्।
पुष्पाले निर्धारित दूरी १ घण्टा २३ मिनेट ०५ सेकेन्डमा तय गरिन् । दोश्रो भएकी राममाया बुढाले १ घण्टा ३३ मिनेट १२ सेकेन्ड समय निकालिन् । १ घण्टा ३५ मिनेट ४४ सेकेन्डमा शुशान कार्की तेश्रो बनिन् ।
यस्तै, पुरुषतर्फ विजयले निर्धारित दूरी १ घण्टा ७ मिनेट ५६ सेकेन्डमा पूरा गरे । किरणसिंह बोगटी १ घण्टा ८ मिनेट २५ सेकेन्ड समयका साथ दोश्रो भए । अजितकुमार यादव १ घण्टा ११ मिनेट ३३ सेकेन्डमा तेश्रो भए ।
दुवैतर्फका विजेताले ७५ हजार , दोस्रोले ५० हजार र तेस्रोले २५ हजार रुपैयाँ प्राप्त गरे ।
पुरुष ५ किलोमिटर दौडमा धनुवा नन्द १८ मिनेट ०९.१० सेकेन्ड समयसाथ पहिलो स्थानमा रहे । विकेश घिमिरे (१८ मिनेट ३९.२६ सेकेन्ड) दोश्रो तथा नकुल घर्ती (१८ मिनेट ४३.५६ सेकेन्ड) तेश्रो भए ।
५ किमी महिलामा निर्धारित दूरी २६ मिनेट ०७.३० सेकेन्डमा सकाउदै सर्मिला बस्नेत पहिलो भइन् । २६ मिनेट ०९.३४ सेकेन्डमा सुस्मु डोल्मु तामाङ दोश्रो तथा ३२ मिनेट ३४.३६ सेकेन्डमा दिविका गुरुङ तेश्रो भए । दुवै समूहका विजेताले १५ हजार, दोस्रोले १० हजार र तेश्रोले ५ हजार रुपैयाँ पुरस्कार पाए ।
विजेतालाई पूर्व मन्त्री धनराज गुरुङ, पूर्व प्रदेश सांसद् राधा घले, आयोजक समितिका अध्यक्ष दीपक गुरुङलगायतले पुरस्कृत गरे ।
उक्त कार्यक्रममा नेपाल लोकतान्त्रिक खेलकुद संघको केन्द्रीय कार्यसमितिको विभिन्न पदमा मनोनितहरुलाई पत्र पनि हस्तान्तरण गरिएको थियो ।

नेपाल लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष देवेन्द्र शेरचनको उपस्थितिमा नेपाल कांग्रेसका उप सभापति समेत रहेका पूर्व मन्त्री धनराज गुरुङले दीपक गुरुङलाई महासचिव, राजुविक्रम थापालाई सचिव, दामोदर अर्याललाई प्रवक्ता तथा राजु ताम्राकार, दीपक थापा, तुलसी थापा र जग्जीत केसीलाई सदस्यमा मनोनयन गरिएको पत्र प्रदान गरिएको थियो ।