शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

चुनौतीको सामना गर्न नै आएको हुँ : पुबुदु


  • मंगलबार, पुष १३ २०७८
7.1K
SHARES

फाइल तस्विर

नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले आफू चुनौतीको सामना गर्न नेपाल आएको बताएका छन् ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीमा पुबुदुको यो दोस्रो कार्यकाल हो । मंगलबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुबुदुलाई नेपाल क्रिकेट संघ (क्यान)का क्रिकेट म्यानेजर विनोद दासले स्वागत गरेका थिए ।

विमानस्थलमा पुबुदुले आफू चुनौतीको सामना गर्न तयार रहेको बताए ।

नेपालले आउँदो फेब्रुअरी १५ मा आईसीसी ट्वान्टी–२० विश्वकप ग्लोबल क्वालिफायर खेल्दै छ । समूह ‘ए’मा रहेको नेपालले ओमानमा आयोजकसहित बहराइन, क्यानडा, जर्मनी, आयरल्यान्ड, फिलिफिन्स र यूएईविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

त्यस्तै, आईसीसी क्रिकेट विश्वकप लिग–२ खेल्नुपर्नेछ । यस्तो अवस्थामा पुबुदु दोस्रो कार्यकाल सम्हाल्न नेपाल आइपुगेका छन् ।

‘यो सबै चुनौती स्वीकार गरेर नै मैले नेपालको प्रशिक्षक बन्ने निर्णय गरेको हुँ । त्यसका लागि म तयार छु,’’ उनले विमानस्थलमा भने ।

यसअघि, सन् २०११ देखि २०१५ सम्म नेपालको प्रशिक्षण सम्हालिसकेका पुबुदुले पछिल्लो समय अमेरिकाको प्रशिक्षण सम्हालेका थिए । पुबुदुलाई क्यानले गएको महिना खुला प्रतिस्पर्धामार्फत अनुबन्ध गरेको थियो ।

पुबुदुको पहिलो कार्यकालमा नेपाली क्रिकेटले डिभिजन–४ देखि डिभिजन–१ सम्मको यात्रा तय गरेको थियो । २०१४ मा आईसीसी ट्वान्टी–२० विश्वकप पनि खेलेको थियो ।

पछिल्लो समय क्यानले कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्रसिंह ऐरीलाई बर्खास्त गरेर सन्दीप लामिछानेलाई नयाँ कप्तान नियुक्त गरेको छ । साथै, ज्ञानेन्द्र, दीपेन्द्रसिंह, सोमपाल कामी र कमलसिंह ऐरीलाई ६ महिना सेन्ट्रल कन्ट्रयाक्टमा नराख्ने निर्णय गरेको छ ।

त्यसपछि क्यान र खेलाडीबीच तिक्तता बढेको छ । त्यस विषयमा क्यानमै पनि दुई धार छ । यस्तो अवस्थामा दोस्रो कार्यकाल पुबुदुका लागि थप चुनौती बन्नेछ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा