प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले भारतबिरुद्धको दोश्रो अन्तराष्ट्रिय मैत्री खेल हारेपनि नेपाली खेलाडीहरुको प्रदर्शन सन्तोषजनक रहेको बताएका छन् ।
आइतबार काठमाण्डौको दशरथ रंगशालामा सम्पन्न दोश्रो अन्तराष्ट्रिय मैत्री खेलमा नेपाल भारतबिरुद्ध २–१ गोल अन्तरको हारको सामना गर्न बाध्य बन्यो ।
खेलसक्किए लगतै भएको पोष्ट म्याच कन्फरेन्सका दौरान नेपालका प्रशिक्षक अल्मुताइरीले खेलको नतिजा एकातर्फ रहेपनि खेलाडीको प्रदर्शनबाट आफू आशावादी रहेको प्रतिक्रिया दिए ।
उनले नतिजा नेपालको पक्षमा नरहेपनि खेलले आफूलाई निराश नबनाएको बताए ।
‘खेलाडीले गोलका लागि पाएको पाँच वटा राम्रो अवसर सदुपयोग गर्न सकेनन् तर पनि म खेलाडीको प्रदर्शनप्रती खुशी छु’, प्रशिक्षक अल्मुताइरीले भने,‘मसँग २४ जना गोर्खाली छन, टिममा अझै सुधार गर्नुपर्ने पक्ष धेरै छन्, अबको अभ्यासमा त्यो सुधार गर्छौं र साफ च्याम्पियनसिपको उपाधि जित्छौ ।’
अर्काेतर्फ भारतका प्रशिक्षक ईगोर स्टिमाकले जितकै लागि मैदानमा उत्रिएको कारण नतिजा स्वभाविक रहेको प्रतिक्रिया दिए ।
भारतीय राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक इगोर स्टिमाकले नेपालसँगको दोस्रो मैत्री खेल निकै प्रतिस्पर्धात्मक भएको र नतिजा आफ्नो पक्षमा आउँदा निक्कै खुशी लागेको बताएका छन् ।