युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्सकीले अमेरिकाका कुनै पनि राष्ट्रपति रुससँग डराउँदैनन् भन्दै बाईडेन पनि पुटीन संग नडराउने बताएका छन् । फक्स न्युजलाई शुक्रबार अन्तर्वार्ता दिने क्रममा जेलेन्स्कीले भनेका छन्, “मलाई बाइडेन पुटिनदेखि डराउँदैनन् भन्ने विश्वास किन लाग्छ भने उनी एउटा ठूलो मुलुकका नेता हुन् ।
फक्स न्युजको स्पेसल रिपोर्टमा उनले भनेका छन्, “म मेरो मुट्ठी कसिरहेको छु । यो हाम्रो परम्परा हो । मलाई थाहा छैन तपाईंहरूले यो मान्यतालाई बुझ्नु हुन्छ कि हुँदैन । मैले मुट्ठी कस्नु वा औँलाहरू क्रस गर्नुको अर्थ अमेरिकाका कुनै पनि राष्ट्रपति रुससँग डराउँदैनन् भन्न खोजेको हो । किनभने, हाम्रो लागि अमेरिका सदैव प्रजातन्त्रको प्रतीक हो । मलाई विश्वास छ, अहिले युक्रेन पनि स्वतन्त्रताको प्रतीक नै हो ।”
रुसबाट युक्रेनमा गरिएको आक्रमणको अन्तर्राष्ट्रियजगत्बाट आलोचना भइरहेको छ । बेलायत, क्यानडा र अमेरिकालगायत मुलुकले जारी गरेका आर्थिक प्रतिबन्धका कारण रुस र त्यहाँका अत्यन्तै धनाढ्य व्यक्तिहरूका अर्थतन्त्रमा ठूलो नकारात्मक प्रभाव परिरहेको छ ।
युक्रेन युद्ध सुरु भएदेखि नै बाइडेनले खुला रूपमा रुसी कार्यको विरोध गर्दै आएका छन् । उनले गएको महिना पुटिनलाई ‘युद्ध अपराधी’को संज्ञा दिएका थिए । हालै मात्र पोल्यान्ड भ्रमणका क्रममा बाइडेनले पुटिनलाई ‘कसाही’को संज्ञा दिएका छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।