बुधबार, जेष्ठ १७ २०८०
ताजा अपडेट

विश्वकपको ‘ड्र’ पछि बोले रोनाल्डो : पोर्चुगलले उपाधि जित्ने सम्भावनाबारे के भन्छन् ?


  • KTM Khabar
  • शनिबार, चैत्र १९ २०७८
7.7K
SHARES

यस वर्ष कतारमा आयोजना हुने विश्वकप फुटबलमा समूह चरणको ड्र भएपछि पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले आफूहरूको विश्वकप यात्रा र उपाधि दाबेदारीबारे आफ्नो धारणा राखेका छन् । प्लेअफको बाटोबाट छानिएको पोर्चुगल विश्वकपमा समूह ‘एच’मा परेको छ । सो समूहमा पोर्चुगलसँगै उरुग्वे, साउथ कोरिया र घाना रहेका छन् । पोर्चुगलले पहिला घानासँग खेल्दै प्रतियोगिताको सुरुआत गर्ने तालिका छ ।

हिजो कतारमा प्रतियोगिताको ड्र भएपछि पोर्चुगलका कप्तान रोनाल्डोले प्रतियोगिताबारे आफ्नो र टिमको योजनाबारे बताएका छन् । उमेरले ३७ वर्ष पुगेका रोनाल्डोका लागि यस वर्षको विश्वकप अन्तिम विश्वकप हुन सक्छ । चर्को दबाब र तनाव बीच दुई प्लेअफ खेल जितेको पोर्चुगलले अब विश्वकपको समूह चरणमा उरुग्वे र कोरिया जस्ता बलिया टोलीको सामना गर्नुपर्ने छ । समूह चरणबाट अघि बढे पोर्चुगले अन्तिम १६ मा ब्राजिलको सामना गर्नुपर्ने हुन सक्छ ।

रोनाल्डोले कतार विश्वकपमा पोर्चुगलले उपाधि दाबेदारी साथ प्रतिस्पर्धा गर्ने र आफूहरूसँग एक मजबुत टिम रहेको बताएका छन् । ‘राम्रो । यो ड्र राम्रो छ । हामीले उरुग्वे र साउथ कोरिया जस्ता बलिया टोलीसँग खेल्नुपर्ने छ । अवश्य पनि, उनीहरू कठिन प्रतिस्पर्धी हुन् । हामीले सबै प्रतिस्पर्धाको उत्तिकै सम्मान गर्नुपर्छ । र, आफ्नो लक्ष्य प्राप्त गर्न मेहनत गर्नुपर्छ,’ एक अन्तर्वार्तामा रोनाल्डोले भनेका छन्, ‘पोर्चुगल उपाधि दाबेदारीसाथ कतार जानेछ । हामी विश्वका जुनसुकै टिमलाई हराउन सक्छौं ।’

पोर्चुगलले उपाधि जित्न सक्ने सम्भावना कति छ भनेर सोधेको प्रश्नमा कप्तान रोनाल्डोले आफूहरू ९९ प्रतिशत विश्वासका साथ खेल्ने बताएका छन् । ‘विश्वकप एक सपना हो । मेरा लागि, पोर्चुगिज टिम र त्यहाँका जनताको पनि । हरेक टिम जित्न र च्याम्पियन बन्न चाहन्छन् । हामी पोर्चुगलको प्रतिनिधित्व गर्न पाउँदा गर्व गर्छौं,’ रोनाल्डोले भने, ‘पोर्चुगल ९९ प्रतिशत विश्वासका साथ प्रतियोगितामा होमिनेछ । हरेक टिम यही सोचेर खेल्नेछन् ।’
यसअघि प्लेअफको फाइनल खेलअघि रोनाल्डोले आत्मविवासका साथ बोल्दै पोर्चुगलबिनाको विश्वकप हुन नसक्ने भन्दै आफूहरू छनौट हुने दाबी गरेका थिए । फाइनलमा नर्थ म्यासेडोनियासँगको खेलअघि उनले भनेका थिए, ‘हामी कतार जाँदैछौं । पोर्चुगलबिनाको विश्वकप हुँदैन ।’

त्यसपछि फाइनल खेलमा नर्थ म्यासेडोनियालाई २–० ले हराएपछि रोनाल्डोले भने, ‘हाम्रो तत्कालको लक्ष्य पूरा भएको छ । यसका लागि म सहकर्मी र सम्पूर्ण समर्थकलाई धन्यवाद भन्न चाहन्छु । हामी जहाँ हुनुपर्ने थियो, त्यहाँ हुनेछौं । हामी विश्वकपमा छनौट हुन्छौं भन्ने विश्वास हामीलाई थियो । र, त्यो विश्वासलाई सार्थक तुल्याउन हामीले एक भएर लड्यौं,’ रोनाल्डोले फाइनल खेलपछि भनेका थिए ।

हालसम्म पोर्चुगलका लागि ११५ गोल र १० ह्याट्रिक गरेका रोनाल्डोले यस वर्षको विश्वकपमा थप गोल संख्या बढाउने अवसर छ । यसै विश्वकपमा रोनाल्डोले थप गोल गरेर विश्वकप सहितका ठूला अन्तर्राष्ट्रिय प्रतियोगितामा सबैभन्दा धेरै गोल गर्ने खेलाडीको नयाँ कीर्तिमान बनाउने अवसर पनि छ । त्योभन्दा ठूलो कुरा त करिअरको अन्तिम विश्वकपमा उनलाई उपाधि जितेर महान सपना पूरा गर्ने अवसर पनि छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा