नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी दक्षिण एसियाली फुटबल महासंघ (साफ)को प्रतिबन्धप्रति आक्रोश पोखेका छन्। प्रतिबन्धपछि आयोजित भर्चुअल प्रत्रकार सम्मेलनमा साफले चाहे सिधै भारतलाई उपाधि दिन चुनौती दिएका हुन्।
अलमुताइरीले आफ्नै नियमको उल्लंघन गर्दै अन्यायपूर्ण निर्णय गर्ने साफबाट के अपेक्षा गर्ने भन्ने प्रश्न गरे। ‘साफले नियम मान्नुपर्छ। मलाई लाग्छ साफले एकपक्षीय निर्णय गरेको छ। किन मेरा लागि आफ्नै नियमको सम्मान गरेन’, उनले भने, ‘खेल मैदानभित्र खेल्ने हो, मैदानबाहिर होइन। साफ चाहन्छ भने सिधै भारतलाई उपाधि दिए भयो। भारतका प्रशिक्षकले रातो कार्ड पाए भनेर मलाई कारवाही गर्नु उचित भएन।’
उनले आफूमाथिको कारबाही व्यक्तिगत मात्र नभएर नेपाली राष्ट्रिय टोलीको प्रशिक्षकमाथि र नेपाली फुटबलमाथिको कारबाही भएको समेत बताए।
उनले नियमावलीमै नभएको कारण देखाउँदै आफूलाई कारबाही गरेकोमा उनले दु:ख पनि ब्यक्त गरे। ‘साफको निर्णयले मलाई निकै दु:ख लागेको छ। साफले ममाथि किन निशाना साँधेको हो ?’, उनले प्रश्न गर्दै भने, ‘मलाई किन यस्तो व्यवहार गरियो। मैले बुझ्न सकेको छैन।’
साफले गरेको अन्यायविरुद्ध आफू कोर्ट अफ आर्बिट्रेसन इन स्पोर्ट्स (कास)मा समेत जाने उनले बताए। ‘यो निर्णय सही भएन। मुख्य खेल खेलाउने एउटा प्रशिक्षकको सपना चकनाचुर भयो’, उनले भने, ‘भारतका प्रशिक्षक प्रतिबन्धमा परेपछि मलाई पनि कारबाही गरिएको हो। यो सरासर अन्यायपूर्ण निर्णय हो।’
प्रतियोगिताको लिग चरणका दौरान दुई फरक खेलमा पहेंलो कार्ड पाएको भन्दै साफले उनीमाथि प्रतिबन्ध लगाएको हो। साफले तयार पारेको प्रतियोगिताको नियमावली अनुसार फरक खेलमा पहेंलो कार्ड पाएमा खेलाडीले अर्को खेल खेल्न नपाउने उल्लेख छ। खेलका क्रममा रातो कार्ड पाएमा भने अफिसियलले पनि अर्को खेल गुमाउने नियमावलीमा उल्लेख छ। तर, साफले अलमुताइरीले दुई फरक खेलमा पहेंलो कार्ड पाएको कारण देखाउँदै फाइनलमा प्रतिबन्ध गरेको हो।