सर्जियो बुस्केट बार्सिलोनाको नयाँ कप्तान बनेका छन् । लिओनल मेस्सीको बहिर्गमनपछि स्पानिस क्लब बार्सिलोनाले बुस्केटलाई नयाँ कप्तान नियुक्त गरेको हो । २०२१/२२ को सिजनका लागि अब बुस्केटले मेस्सीको स्थान लिनेछन् ।
मेस्सीले २१ वर्षपछि बार्सिलोना छाडेका हुन् । ला लिगाको आर्थिक नियमका कारण बार्सिलोनाले मेस्सीलाई क्लबमै राख्न असफल भएको हो ।
आन्द्रे इनेस्टाले क्लब छाडेपछि मेस्सीले सन् २०१८/१९ को सिजन देखि बार्सिलोनाको कप्तानी सम्हालेका थिए । मेस्सीको कप्तानीमा बार्सिलोनाले एक ला लिगा र एक कोपा डेल रे जितेको थियो ।
३३ वर्षीय बुस्केट पहिलो पटक बार्सिलोनाको कप्तान बनेका हुन् । मेस्सी कप्तान हुँदा उनी उपकप्तान थिए । मेस्सीभन्दा अघि कार्लोस पुयोल, जाभी, इनेस्टाले बार्सिलोनाको कप्तानी गरेका थिए ।
बुस्केट सन् २००५ मा टिनएज खेलाडीको रुपमा बार्सिलोनामा आबद्ध भएका थिए । उनले २००८ देखि निरन्तर सिनियर टिमका लागि खेल्दै आएका छन् । यस्तै बुस्केटले स्पेनको राष्ट्रिय टिमको कप्तानीसमेत गरिसकेका छन् ।
बार्सिलोनाले बुस्केटको नेतृत्वमा ‘क्याप्टेन्स ग्रुप’ नै बनाएको छ । जसमा जेरार्ड पिके, सर्जि रोवर्टो र जोर्दी अल्वा छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।