एजेन्सी-पोर्चुगलका फरवार्ड क्रिस्टियानो रोनाल्डोको भविष्य इटालीमा अनिश्चित बनेका बेला युभेन्टसका अध्यक्ष आन्ड्रेय एग्नेल्लीले आफ्नो अफिसियल धारणा राखेका छन् । नयाँ सिजनअघि नै रोनाल्डोले इटाली छाडेर अन्यत्र जाने चर्चा बारे क्लबका तर्फबाट औपचारिक धारणा सार्वजनिक गरेका हुन्। नयाँ सिजन २०२१–२२ सुरु हुनुअघि युभेन्टसका अध्यक्ष तथा खेल निर्देशकसहितका अधिकारीले औपचारिक पत्रकार सम्मेलन आयोजना गरेका थिए ।
लगातार च्याम्पियन्स लिगमा असफल भएपछि रोनाल्डो इटालीमा निराश भएका छन्। क्लबबाट वार्षिक ३२ मिलियन युरो तलब लिने रोनाल्डोलाई क्लबले च्याम्पियन्स लिग उपाधि नजित्ने अवस्थामा निरन्तरता नदिने चर्चा फुटबल जगतमा बढेको थियो । युभेन्टसमा थप एक सिजन सम्झौता अवधि बाँकी नै भए पनि रोनाल्डोले त्यसअअघि नै क्लब छाड्न सक्ने चर्चा अहिले पनि छ ।
यस विचमा रोनाल्डोले युभेन्टस छाड्ने बारे पत्रकारले अध्यक्ष एग्नेल्लीलाई प्रश्न गरेका थिए । जवाफ दिँदै अध्यक्ष एग्नेल्लीले आजका दिनसम्म रोनाल्डोको बिदाइ बारे कुनै हिसाबले छलफल नभएको बताए । यस कुरा नभएको प्रति आफूहरू खुसी छाैँ । रोनाल्डोले पनि क्लब छाड्ने कुनै संकेत आजसम्म नदिएको र बिदाइबारे कुनै सोच नरहेको उनले बताए । क्लब रोनाल्डोसँग सन्तुष्ट रहेको उनको भनाइ छ ।
‘आजका दिनसम क्रिस्टियानोको सरुवा मार्गबारे कुनै पनि संकेत छैन । न क्रिस्टियानोको तर्फबाट छ, न त क्लका तर्फबाट नै । आजसम्म त्यो कुरा नहुँदा हामी खुसी छौं । सिंगो क्लब र समर्थक खुसी छन् । बिदाको अवधि सकिएपछि उनी टिममा फर्किनेछन्,’ अध्यक्ष एग्नेल्लीले भने, ‘बाहिर धेरैखाले चर्चा छन् । तर, ती कुनै पनि क्लबका अफिसियल धारणा वा सूचना होइनन् । क्रिस्टियानोको विषयमा हामी स्पष्ट छौं ।’
अध्यक्ष एग्नेल्लीले रोनाल्डोजस्ता खेलाडी क्लबमा हुनु शानको कुरा रहेको पनि बताएका छन् । ‘क्रिस्टियानोजस्ता च्याम्पियन खेलाडी यस क्लबमा हुनु गर्वको कुरा हो । उनीसँग हामी सधैं खुसी छौं । अस्तिको सिजन हामीले सोचेजस्तो हुन सकेन । तर, हामी फेरि पनि सँगै अघि बढ्न तयार छौं । सायद क्रिस्टियानो पनि । किनभने, आजसम्म सम्झौता अन्त्य गर्ने विषयमा कहिल्यै पनि कुनै पनि हिसाबले कुरा भएको छैन । हामीलाई यो विश्वास छ कि, कम्तीमा सम्झौता अवधिभरि उनी यहाँ हुनेछन् ।’
सन् २०१८ मा स्पेनिस क्लब रियल मड्रिडबाट ११६ मिलियन युरोमा अनुबन्ध भएका रोनालडोले युभेन्टससँग गरेको सम्झौता सकिन अझै एक वर्ष बाँकी नै छ । सो क्लबका लागि उनले तेस्रो सिजन सकिँदा हालसम्म सबैखाले प्रतियोगितामा १३३ खेल खेल्दै कूल १०१ गोल गरिसकेका छन् । उनले सो क्लबबाट दुई सिरी ए लिग सहित कूल ५ उपाधि जितेका छन् ।