क्रोएसियालाई ५-३ ले पराजित गर्दै स्पेन युरोकप २०२० को क्वाटरफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा ८ गोल हुँदा स्पेनले क्रोएसियालाई अतिरिक्त समयमा पराजित गरेको हो । निर्धारित समयको खेल ३-३ को बराबरी भएपछि स्पेनले अतिरिक्त समयमा दुई गोल गर्दै खेल जितेको हो ।
युरोकपमा एक खेलमा भएको यो दोस्रो धेरै गोल हो । यसअघि सन् १९६० को पहिलो संस्करणको पहिलो खेलमै फ्रान्स र युगोस्लाभियाबीचको खेलमा ९ गोल भएको थियो ।
रोमाञ्चक खेलमा स्पेनलाई जित दिलाउन पाब्लो साराबिया, सेजार एज्प्लिकुएटा, फेरान टोरेस, अल्भारो मोराटा र मिकेल ओजाबायाले एक–एक गोल गरे । क्रोएसियाका लागि मिस्लास ओरिसिच र मारियो मासालिचले एक–एक गोल गरे । स्पेनले एक गोल उपहार दिएको थियो ।
स्पेन सन् २०१२ पछि पहिलो पटक युरोकपमा क्वाटरफाइनलमा पुगेको हो । सन् २००८ र २०१२ मा लगातार युरो उपाधि जितेको स्पेन २०१४ को विश्वकपमा समूह चरणबाटै बाहिरिएको थियो भने २०१६ को युरो र २०१८ को विश्वकपमा अन्तिम १६ बाट बाहिरिएको थियो ।
डेनमार्कको कोपनहेगनस्थित पार्केन स्टेडियममा भएको खेलमा क्रोएसियाले आत्मघाती गोल मद्दतमा पहिले अग्रता लिएको थियो ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।