शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

न्यु डायमन्ड सेमिफाईनल नजिक


  • बुधबार, बैशाख ८ २०७८
14.9K
SHARES

तातोपानी, ८ बैशाख । होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लब भोटेकोशी गाउँपालिका अध्यक्ष कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाईनल नजिक पुगेको छ । समुह ए मा रहेको न्युडायमण्डले आफ्नो बलियो प्रतिद्धन्द्धी आर्मीमाथी ३–० कोे सोझो जित निकाले पछि सेमिफाईनलको यात्रा सहज बनेको हो । न्यु डायमण्डले बिहिवार कमजोर प्रतिद्धन्द्धी ढोरपाटनसँग अन्तिम लिग खेल खेल्ने छ ।

भोटेकोसी गाँउपालिका वडा नम्वर २ स्थित तातोपानी आधारभुत विद्यालयको खेल मैदानमा उद्घाटन खेलमा डायमन्डले आर्मीमाथी एकपक्षीय खेलमा २५–१४,२५–९ र २५–१४ सहज जित निकाल्यो । आर्मीविरुद्ध उच्च प्रदर्शन गरेकी झरना श्रेष्ठ प्लेयर अफ दि म्याच घोषित भइन् । उनले २ हजार रुपैया हात पारिन् । यस्तै झरनाको खेलबाट प्रभावित भएर भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले व्यक्तिगत रुपमा ५ हजार रुपैयाँ प्रदान गरे । जितसँगै डायमन्डले आरबीबी एनभिए क्लब लिग भलिबलको लिग गत चैतमा सम्पन्न पाँचौ संस्करको आरबीबी एनभिए कप भलिबलको लिग चरणमा भोगेको हारको बदला लिन सफल भएको छ । डायमन्ड आर्मीसँग ३–२ को सेटमा पराजित भएको थियो । यस्तै जितसँगै डायमन्डले सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । लिगको अन्तिम चरणमा डायमन्डले ढोरपाटन स्पोर्ट्स क्लबसँग प्रतिस्पर्धा गर्दैछ । यसअघि प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का (राखेप) सदस्य सचिव रमेशकुमार सिलवालले उद्घाटन गरेका थिए । उद्घाटनका अवसरमा सदस्य सचिव सिलवालले राष्ट्रिय खेल भलिबल भएकाले पनि यस खेलको विकास र विस्तारमा राष्ट्रिय खेलकुद परिषद्ले प्राथमिकतामा राख्ने बताए । उनले दुई बर्ष भित्र भलिबलको अन्तर्राष्ट्रिय स्तरको कभर्डहल निर्माण गर्ने बताउदै भलिबलको विकासका लागि फ्रेन्चाईज (ब्यावसायिक खेल) हुन आवाश्यक भएकाले निकट भविष्यमै महिला तथा पुरुषको आकर्षक नगद पुरस्कार राशी रहेको भलिबल लिगको संचालन गरिने बताए ।

प्रतियोगिताको उद्घाटन समारोहको अध्यक्षता गरेका भोटेकोशी गाँउपालिकाका अध्यक्ष राजकुमार पौडेलले सिन्धुपाल्चोकमै पहिलोपटक राष्ट्रिय स्तरको महिला भलिबल प्रतियोगिता आयोजना भएको बताउदै यसलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।

प्रतियोगितामा बिहीबार समूह चरणको तीन खेलमा प्रतिस्पर्धा हुदैछ । पहिलो खेलमा आर्मी र ढोरपाटन, दोस्रो खेलमा पुलिस र एपिएफ तथा अन्तिम खेलमा डायमन्ड र ढोरपाटनबीच प्रतिस्पर्धा हुनेछ ।

बुधबारदेखि तातोपानीस्थित आधारभूत विद्यालयको मैदानमा हुने प्रतियोगितामा ५ टोलीले सहभागिता जनाएका छन् । सहभागी टोलीलाई २ समूहमा विभाजन गरिएको छ । समूह ए मा होंगान्जी न्यु डायमन्ड, त्रिभुवन आर्मी र ढोरपाटन ट्रेनिङ सेन्टर छन् । त्यस्तै समूह बी मा नेपाल पुलिस क्लब र नेपाल एपिएफ क्लब रहेका छन् । लिग चरणपछि शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

प्रतियोगिताको विजेताले ३ लाख, दोस्रो हुनेले २ लाख र तेस्रो हुनेले १ लाख उपाधिसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । चौथो हुने टोलीले ५० हजार प्राप्त पाउनेछ । प्रतियोगिता सर्वोत्कृष्ट खेलाडीले २० हजार प्राप्त गर्नेछन् ।

व्यक्तिगत विधातर्फ उत्कृष्ट स्पाइकर, सर्भर, डिफेन्स, ब्लकर, सेन्टर र प्रशिक्षकले ७–७ हजार प्राप्त गर्नेछन् । प्रत्येक खेलको प्लेयर अफ द म्याचले २ हजार पुरस्कार पाउनेछन् । प्रतियोगिता आयोजनाको लागि कुल २८ लाख खर्च हुने अनुमान गरिएको छ । आयोजनाका लागि भोटेकोशी गाउँपालिकाले ५ लाख रुपैयाँ छुट्याएको छ ।

 


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा