सेयर बजार ओरालो लाग्ने क्रम साताको तेस्रो दिन मंगलबार पनि जारी रहयो। प्री ओपन सेसनमा ४.९१ अंकले बढेको सेयर बजारमा कारोबार बन्द हुँदा दोहोरो अंकको गिरावट आयो। आज नेप्से परिसूचक ३४.७८ अंकले घट्यो। नेप्से परिसूचक ३४.७८ अंकले घटेर २३८५.०२ विन्दुमा बन्द भयो।
नेप्से ओरालो लागेसँगै कारोबार रकम डेढ अर्बमा खुम्चियो। यसदिन २३७ कम्पनीको ३७ लाख ८३ हजार २४ कित्ता सेयर १ अर्ब ५२ करोड ४३ लाख ६४ हजार ४१८ रुपैयाँमा किनबेच भयो। सेन्सेटिभ इण्डेक्स ५.५२ प्रतिशतले घटेर ४४९.३६ विन्दुमा झर्यो।
अघिल्लो कारोबार दिन सोमबार नेप्से ४४ अंकले घटेको थियो। सो दिन नेप्से ओरालो लागेपनि कारोबार रकममा भने वृद्धि भएको थियो। सोमबार २ अर्ब २६ करोड माथिको सेयर कारोबार भएको थियो। यस्तै, यसदिन सेन्सेटिभ इन्डेक्स पनि ८.८७ अंकले घटेर ४५४.८७ विन्दुमा बन्द भयो। अन्य समूहको सर्वाधिक ४.६२ प्रतिशतले सूचक घट्यो।
यसदिन कारोबारमा आएका १३ समूहमध्ये होटेल तथा पर्यटनबाहेक बाँकी सबै समूहको सूचक घटेको छ। सोमबार १३ वटै समूहको सूचक ओरालो लागेको थियो। सो दिन अन्य समूहको सर्वाधिक ४.६२ प्रतिशतले सेयर मूल्य घटेको थियो।
आज अन्य समूहको सर्वाधिक २.३३ प्रतिशत घट्यो। निर्जीवन विमाको २.०८, लगानी समूहको २.०१ र वित्तको २.४ प्रतिशतले सूचक घट्दा व्यापारको १.८१, विकास बैंकको १.७१, जीवन विमाको १.६१ र सामूहिक लगानीको १.२६ प्रतिशतले सूचक घटेको हो।
मगलबार नेष्डो समृद्धि लघुवित्तीय वित्तको सेयर कारोबारमा सकारात्मक सर्किट लेभलमा कारोबार भयो। सोमबार दुई कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको थियो।
कारोबार रकमका आधारमा हिमालयन डिस्टिलरी अग्रस्थानमा रह्यो। सो कम्पनीको ५ करोड ७५ लाख १ हजार ५५० रुपैयाँमा सेयर खरिदबिक्री भयो। यसैगरी, ४ करोडमाथिको सेयर कारोबार गरी नबिल बैंक दोस्रो स्थानमा र ३ अर्ब बढीको कारोबार गरी शिवम् सिमेन्ट्स तेस्रोमा रह्यो।