एमसिसीले प्रतिनिधिसभाले गत सोमबार अनुमोदन गरेको एमसीसी सम्झौतालाई स्वीकार गरेको छ। सत्ता गठबन्धनले एमसीसी सम्झौता व्याख्यात्मक टिप्पणी सहित सदनबाट पास गरेको थियो । एमसीसी मुख्यालयले यसलाई नमान्ने हो कि भन्ने शङ्का रहँदै आएको थियो । तर एमसीसी मुख्यालयले स्वागत गरे सँगै यो व्याख्यात्मक टिप्पणीको शङ्का समेत हटेको छ ।
एमसीसी मुख्यालयले एक विज्ञप्तिमा जारी गर्दै नेपालको संसद्ले अनुमोदन गरेसंगै परियोजना कार्यान्वयन गर्न मद्दत गरेको जनाएको छ। विज्ञप्तीमा एमसीसी सम्झौता अनुमोदन गर्ने निर्णयमा नेपालले आफूलाई सधैँ एक सार्वभौम लोकतान्त्रिक मुलकुका रूपमा प्रमाणित गरेको समेत उल्लेख गरेको छ।
विज्ञप्तीमा नेपालको संसदले सम्झौता अनुमोदन गरेसंगै पाँच वर्षे परियोजना कार्यान्वयन गर्ने दिशामा भइरहेका कामलाई प्रेरित गरेको जनाएको छ।
एमसीसीले लोकतान्त्रिक मूल्य र आर्थिक समृद्धिका लागि नेपाललाई निरन्तर सहयोग गर्ने समेत विज्ञप्तीमा उल्लेख छ। आजै अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकनले प्रधानमन्त्री शेरबहादुर देउवालाई टेलिफोन गरेका थिए।
एमसिसी मुख्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सम्झौता अनुमोदन गर्ने निर्णयमा नेपालले आफूलाई सधैँ एक सार्वभौम लोकतान्त्रिक मुलकुका रूपमा प्रमाणित गरेको छ।’
अनुमोदनसँगै पाँच वर्षमा परियोजना सम्पन्न हुनेतर्फ तयारीका लागि मद्दत गरेको पनि एमसिसीको भनाइ छ। ‘सम्झौता अनुमोदनले पाँचवर्षे परियोजना कार्यान्वयन गर्ने दिशामा भइरहेका काम जारी राख्न थप प्रेरित गरेको छ। परियोजनाले नेपालमा बिजुलीको थप भरपर्दो आपूर्ति, कम यातायात लागत र नेपाली जनताका लागि थप रोजगारी सिर्जना गर्न सहयोग पुर्याउनेछ,’ एमसिसी मुख्यालयको विज्ञप्तिमा उल्लेख छ। नेपाल सरकार र एमसिसीबीच ०७४ भदौमा हस्ताक्षर भएको थियो। विद्युत् र सडक परियोजनाले नेपालका करिब ८० प्रतिशत जनतालाई लाभ पुग्ने एमसिसीको मूल्यांकन छ।
