आइतबार, भाद्र २१ २०८३
ताजा अपडेट

लगातार तेस्रो दिन दोहोरो अंकले बढ्यो नेप्से !


  • मंगलबार, पुष २० २०७८
8.2K
SHARES

फाइल तस्विर

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लगातार तेस्रो दिन दोहोरो अंकले बढेको छ । साताको पहिलो कारोबार दिन आइतबारदेखि नै बढ्न थालेको नेप्से परिसूचक हिजो सोमबार र आज मंगलबारसम्म पनि दोहोरो अंकले बढेको हो ।

नेप्सेमा आइतबार ६० अंकको सुधार आएको थियो । हिजो सोमबार ३२ अंकले बढेको थियो भने आज मंगलबार ६३ अंकले बढेको छ । यससँगै पछिल्लो तीन कारोबार दिनमा नेप्से परिसूचक १५५ अंकले बढेको छ ।

आज ६३ अंकले बढेको नेप्सेमा चार अर्ब ३२ करोड रुपैयाँ बराबरको ९१ लाख १० हजार कित्ता सेयर किनबेच भएको छ । लगातार तेस्रो दिन दोहोरो अंकले बढेपछि नेप्से परिसूचक २६ सय ७९ अंकमा पुगेर रोकिएको छ । खासगरी, नेपाल राष्ट्र बैंकले गरेको पछिल्लो दुई वटा निर्णयले बजारमा सकारात्मक सन्देश प्रवाह भएको हो ।

राष्ट्र बैंकले स्थानीय तहको ८० प्रतिशत बजेटलाई बैकिङ तरलतामा गणना गर्न वाणिज्य बैङ्कहरूलाई स्वीकृति दिएसँगै बजारमा तरलता अभावको संकट सुधारिन थालेको छ । यस्तै, विदेशबाट भित्रिने सामानको आयातमा समेत राष्ट्र बैंकले कडाइ गरेको छ । यससँगै नेपालको अनियन्त्रित आयात रोकिने र बजारको तरलता अभाव कम हुने आँकलन गरिएको छ । केन्द्रीय बैंकको यी दुई वटा निर्णयले सेयर बजार सुधारिन थालेको हो ।

परिसूचक ६३ अंकले बढे पनि उत्पादनमूलक र अन्य समूहमा भने गिरावट आएको छ । उत्पादनमूलक समूहमा ४२ अंकको र अन्य समूहमा ६ अंकको गिरावट आएको हो । यीबाहेक अन्य समूहमा भने उत्साहजनक सुधार आएको छ । विकास बैंक समूहमा सबैभन्दा बढी २३२ अंकको, जीवन बीमा समूहमा १६० अंकको र लघुवित्त समूहमा ९१ अंकको सुधार आएको छ ।

बजार दोहोरो अंकले बढ्दा श्री इन्भेष्टमेन्ट फाइनान्स र सप्तकोसी डेभलपमेन्ट बैंकको सेयर मूल्य १० प्रतिशतले बढेको छ । यस्तै, मध्य भोटेकोसी जलविद्युत कम्पनी र नेपाल एसबीआई बैंकको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले उकालो लागेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा