नेपाली काँग्रेसको १४औँ महाधिवेशनबाट खुला केन्द्रीय सदस्यमा निर्वाचित गणेश लामा चर्चामा छन् । ९९ उम्मेदवारमध्ये लामा १७८२ मतसहित खुलातर्फ ३५ जना केन्द्रीय सदस्यभित्र पर्न सफल भए । विगतमा ‘गुण्डा नाइके’ र ‘डन’को छवि भएका लामा विजय गच्छदारसँगै २०७४ को चुनावअघि पार्टी फोरम लोकतान्त्रिक समायोजन गरेर काँग्रेसमा आएका थिए । फोरममा केन्द्रीय सदस्य रहेका लामा पाँच वर्षपछि देशकै पुरानो पार्टीको निर्वाचित केन्द्रीय सदस्य बन्न सफल भएका हुन् ।
लामा भन्छन्, ‘मलाई एकदमै गौरव महसुस भइरहेको छ । काँग्रेसजस्तो पार्टीमा खुलामा आज मैले जुन खालको जित हासिल गर्न सफल भए, देशभरका तमाम साथीभाइ, महाधिवेशन प्रतिनिधि साथीको साथ सहयोगप्रति म कृतज्ञ छु । यो गुनको एक-एक हिसाब म चुकाउनेछु ।’ पार्टीले बेलाबखत दिएको जिम्मेवारी र काम इमानदारिताका निभाउँदै आएकोदेखि ७७ वटै जिल्लाका पार्टी साथीसँग सम्पर्कमा रहेकाले आफू जित्छु भन्ने विश्वास रहेको लामाले बताए ।
‘गुण्डा नाइके’ र ‘डन’को भनेको सुन्दा आफूलाई दुःख लाग्ने पनि उनले बताए । ‘यो मलाई लामो समयदेखि लाग्दै आएको आरोप हो । म लामो समयदेखि निरन्तर राजनीतिमा लाग्दै आएको व्यक्ति हो । नेविसंघबाट सुरु गरेर एउटा लोकतान्त्रिक चौथो पार्टीको जिम्मेवार पदमा बसेको पनि लामो समय भयो । तपाईंले यो प्रश्न उठाइरहँदा मलाई गुण्डा नाइकेको परिभाषा नै थाहा छैन,’ उनले भने, ‘ मलाई गुण्डा नाइके भनेर चिनाउने मिडिया नै हुन् । तैँले यो गल्ती गरिस् त्यसकारण यो नाम रह्यो भन्नुपर्यो नि । त्यतिकै मिडियाले पटक पटक भन्ने, मैले लामो समयदेखि सुनिरहेको, हेरिरहेको र देखिरहेको छु । यो सुन्दा दुःख लाग्छ ।’
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।