
१६ जेठ, काठमाडौँ ।
निजी तथा आवासीय विद्यालय संगठन काठमाडौँ (प्याब्सक) को आयोजनामा अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।

बुधबार चबहिलमा रहेको भि.एस. कलेजको हलमा आयोजना गरिएको उक्त वक्तृत्वकला प्रतियोगितामा १८ विद्यालयबाट २९ प्रतियोगीहरुको सहभागिता रहेको थियो । एउटा स्कूलबाट छात्र र छात्रा गरि दुई जनाले सहभागी हुन पाउने प्रावधान रहेको थियो ।

‘संघीय गणतन्त्र नेपाल र अबको बाटो’ शिर्षकमा गरिएको वक्तृत्वकला प्रतियोगितामा आफ्नो उत्कृष्ट मत राख्दै यस वर्षको प्याब्सक अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगिताको उपाधि पायोनियर पब्लिक स्कूलकी छात्रा स्मारिका दाहालले जितेकी छिन् । शारदा एकेडेमीका छात्रा समृद्धि अधिकारी दोश्रो, शारदा एकेडेमीकै छात्र पूजन मिश्र तेश्रो र प्रस्फुटन इन्टरनेशनल एकेडेमीकी छात्रा एलिना लामिछानेले सान्त्वनाको उपाधि पाएकी छिन् ।

बुधबारनै विजयी विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो । प्रथम, द्धितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्ने विद्यार्थीलाई क्रमस ४ हजार, ३ हजार, २ हजार र १ हजार नगद सहित ट्रफी, प्रमाण–पत्र प्रदान गरिएको थियो ।

नेसनल प्याब्सनका केन्द्रिय अध्यक्ष रितु राज सापकोटाको प्रमुख आतिथ्यतामा गरिएको उक्त पुरस्कार वितरण कार्यक्रममा नेसनल प्याब्सन काठमाडौँका अध्यक्ष विष्णु पराजुली, प्याब्सक अध्यक्ष बाल कुमार गुरुङ एवं प्याब्सक पदाधिकारी, भि.एस. कलेजका क्याम्पस प्रमुख रामकृष्ण सिम्खडा, विभिन्न स्कूलका प्रिन्सिपल, सहभागी स्कूलका प्रतिनिधि लगायत शिक्षासंग सरोकार राख्ने विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं नेसनल प्याब्सनका अध्यक्ष सापकोटाले विजयी हुने विद्यार्थीहरुलाई बधाई दिएका थिए । प्रतियोगीतामा सहभागी भए पश्चात खाली फर्कनु पर्दैन जहाँबाट कि जितिन्छ नत्र सिकिन्छ भन्ने मुल भाव व्यक्त गर्दै अध्यक्ष सापकोटाले विद्यार्थीहरुलाई प्रेरित गरेका थिए ।

कार्यक्रमका सभापती एवं प्याब्सक अध्यक्ष बाल कुमार गुरुङले विद्यार्थीहरुमा रहेको क्षमताको उजागर गर्न प्याब्सक सधै तत्पर रहने विश्वास व्यक्त गर्दै उपस्थित सम्पुर्णमा धन्यवाद ज्ञापन गरेका थिए ।

प्रतियोगिता बिहान ११ बजेदेखी दिउसो २ः ३० बजेसम्म चलेको थियो ।
