गृहमन्त्री विष्णुप्रसाद पौडेलले प्राकृतिक विपत्तिबाट घरमा क्षति पुगेका ५ सय ७२ परिवारका लागि ५० हजारका दरले राहत दिने बताएका छन् ।
आइतबार राष्ट्रिय सभाको बैठकमा बोल्दै मन्त्री पौडेलले यो वर्ष मनसुनको प्रभावबाट असार १६ गतेसम्म घरमा क्षति पुगेका परिवारलाई अस्थायी बसोबासका लागि जिल्ला प्रशासन कार्यालय मार्फत सो रकम दिइने जानकारी गराएका हुन् ।
उनले भने, ‘यो वर्ष असार १६ गतेसम्म पूर्ण तथा आंशिक घर क्षति भएका ५ सय ७२ परिवारका लागि अस्थायी बसोबास गर्न प्रतिपरिवार ५० हजारका दरले २ करोड ८६ लाख रुपैयाँ उपलब्ध गराउने प्रक्रिया अघि बढाइएको छ ।’
उनले यो वर्ष मनसुनबाट सिर्जना भएको प्राकृतिक विपत्तिबाट ५ सय ६५ घरमा पूर्ण क्षति भएको, १ सय १२ घरमा सामान्य क्षति पुगेको जानकारी गराए । उनले क्षतिग्रस्त घरको पुनर्निर्माणमा सरकारले सहयोग गर्ने उल्लेख गरे ।
उनले भने, ‘हालसम्म सिन्धुपाल्चोक मनाङ, लमजुङ गोरखा, कास्की, अर्घाखाँची, खोटाङ तनहुँ, सर्लाही लगायतका जिल्लाहरुमा ५ सय ६५ घर पूर्ण रुपमा क्षति भएको छ । १ सय १२ घरमा आंशिक क्षति भएको छ । ३६ सरकारी कार्यालय भवनमा क्षति पुगेको छ । ९ विद्यालय तथा सामुदायिक भवनमा क्षति पुगेको छ ।’
यस्तै सिन्धुपाल्चोक जिल्लाका ७, मनाङका २, चितवनका २ तनहुमा १ उदयपुर मोरङ र सिरहामा गरी १५ वटा पक्की पुलमा क्षति पुगेको छ । यस्तै विभिन्न जिल्लामा गरेर २३ वटा झोलुङ्गे पुलमा क्षति पुगेको छ । ति पुलहरूको निर्माण तथा सडक खुलाउनका लागि सम्वन्धित निकायलाई निर्देशन समेत दिएको उनले बताए ।