काठमाडौँ – बुढानीलकण्ठ स्थित नेसनल युनाइटेड स्कुलको प्राङ्गणमा सम्पन्न स्व। प्रकाश दाहाल स्मृति तेस्रो राष्ट्रिय खुला महिला तथा पुरूष बक्सिङ प्रतियगितामा त्रिभुवन आर्मी क्लब टिम च्याम्पियन बनेको छ । सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहालले १७ गते आइतबार उद्घाटन गर्नु भएको खेल २० गते बुधबार सम्पन्न भएको हो । चार दिनसम्म संचालन भएको खेलको अन्तिम दिनको स्पर्धासंगै आर्मी क्लब पुरुष र महिला दुवैमा च्याम्पियन बनेको हो ।

नेपाल बक्सिङ संघको तत्वावधानमा बूढानीलकण्ठ नगरपालिका र अखिल नेपाल खेलकुद संघद्वारा संयुक्त आयोजित प्रतियोगिताको पुरुषमा आर्मी ६ स्वण र पाँच रजत र एक कांस्यसहित टिम च्याम्पियन बन्यो ।

महिलातर्फ पनि आर्मीले तीन स्वर्ण, एक रजत र चार कांस्य हात पार्दै टिम च्याम्पियन बनेको हो । पुरुषमा बक्समान्डुका सिंवीर लिम्बु र महिलामा जेन एक्सकी स्वस्तिका तिरुवा उत्कृष्ट खेलाडी घोषित भएको जानकारी इन्टरनेसनल टेक्निकल अफिसियल ९आईटीओ० पुस्कारराज पन्तले दिए ।

उत्कृष्ट हुने खेलाडीले जनही ५० हजार रुपैयाँ नगद पुरस्कार हात पारे । विजेतालाई प्रमुख अतिथि उर्जा, जलश्रोत तथा सिचाईंमन्त्री शक्तिबहादुर बस्नेत, पूर्वमन्त्री विना मगर लगायतले पुरस्कृत गरे । प्रतियोगिताको पुरुषमा १३ र महिलामा नौ स्पर्धा समावेश गरिएको थियो । प्रत्येक स्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीले क्रमशः ५० हजार, २५ हजार र १५ हजार रुपैयाँ नगद पुरस्कार हात पारे ।

समापन समारोहमा प्रमुख अतिथि बस्नेत, पूर्वमन्त्रीमगर, बुढानीलकण्ठ नगरपालिकाका मेयर मीठाराम अधिकारी लगाएतले सम्बोधन गरेका थिए । कार्यक्रमका सभापति एवम् अखिल नेपाल खेलकुद संघका अध्यक्ष अर्जुन बहादुर केसीले खेल सभ्य र भब्य रूपमा सम्पन्न गर्न सहयोग गर्नहुने सबैलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

६७ केजीमा एपीएफका विक्रम चौधरी, ७१ केजीमा बक्समान्डुका चन्द्रबहादुर तामाङ र आर्मीका दानबहादुर दर्लामी तथा ७५ केजीमा एचटुओका विनिश राई र आरडीएसका नोर्बु शेर्पा तथा ९२ केजीमुनि एपीएफका गोकुल गुरुङ र आर्मीका मोहनराज जोशीले फाइनल पक्का गरे । देशभरका खेलप्रेमी दर्शक तथा स्थानीयहरूको अत्यन्त बाक्लो उपस्थितिमा संचालन भैरहेको बक्सिङ प्रतियोगिता यही २० गतेसम्म चल्नेछ ।











तस्विरः नेसनल युनाइटेड स्कूल