काठमाडौँ । निजी विद्यालयहरूको छाता सङ्गठन म्युचुअल एकेडेमिक एक्टिभिटिज फोरम (माफ) ले दोस्रो अन्तर विद्यालय फुटसल टुर्नामेन्ट आयोजना गर्ने भएको छ । माफमा आबद्ध विद्यालयहरूको सहभागितामा दोस्रो फुटसल टुर्नामेन्ट आयोजना हुन लागेको हो ।
‘माफले विद्यार्थीहरूको अन्तर्निहित क्षमताको उजागर गर्ने उद्देश्यले विभिन्न प्रतियोगितात्मक गतिविधिहरू गर्दै आइरहेको छ । यस कारण पनि माफलाई प्याब्सन अन्तर्गतको सक्रिय क्लस्टरको रूपमा हेरिन्छ ।’ माफका अध्यक्ष प्रज्वल कोइराला भन्नुहुन्छ, ‘विद्यार्थीहरूमा फुटसलको आकर्षण बढ्दो रूपमा रहेको छ । सोही कुरालाई मध्यनजर गर्दै विद्यार्थीहरूको खेल जीवनलाई थप बढवा दिन प्रतियोगिताको आयोजना गर्न लागिएको हो ।’

भोलिदेखि धुम्बाराहीमा रहेको धन्वन्तरि फुटसलमा टुर्नामेन्ट हुनेछ । दुई दिनसम्म चल्ने उक्त प्रतियोगितामा १६ विद्यालयहरू सहभागी हुनेछन् ।
माफमा आबद्ध १६ विद्यालयहरूबाट १६ वटा जुनियर फुटसल टिम सहभागी हुने माफका ईसिए संयोजक रेगन सिंहले बताउनुभयो ।
टुर्नामेन्टमा पाँच फिटसम्म उचाइ भएका विद्यार्थीहरूले मात्र भाग लिन पाउने छन् ।
श्रावण २५ गते टुर्नामेन्टलाई समापन गरिनेछ । भने विजयी टिमलाई समेत पुरस्कृत गरिनेछ ।
टुर्नामेन्टबाट विजयी प्रथम, द्वितीय, तृतीय टिमलाई ट्र्रफी, मेडल र प्रमाण–पत्रद्वारा पुरस्कृत गरिने छ । भने उक्त समापन समारोहका प्रमुख अतिथि राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान हरि खड्का रहने जनाइएको छ ।