शुक्रबार बिहान यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा ९ जना घाइते रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
मृत्यु हुनेमा नुवाकोट तारकेश्वर नगरपालिका-४ का २२ वर्षीय सुवास श्रेष्ठ र सोही ठाउँका २९ वर्षीय शम्भु दराई मगर रहेका छन्।
हेटौंडाबाट चितवन जाँदै गरेको बा४ख ४४५४ नम्बरको यात्रुबाहक बस बिहान पौने ९ बजे मनहरी नगरपालिका-६ मा दुर्घटना भएको प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताए।
घाइतेहरूलाई उपचारका लाथि चितवनस्थित अस्पताल पठाइएको र थप विवरण आउन बाँकी रहेको रिमालले बताए।
याे पनि हेर्नुहाेस्:
संखुवासभाको खाँदबारी नगरपालिका वडा नम्बर ८ स्थित माइती घरमा बसिरहेका बेला गत फागुन २७ गते राति ११ बजेतिर चार जना प्रहरी प्रमिला कम्मर सार्कीलाई भेट्न आए र अत्यन्तै अप्रिय खबर सुनाए– तपाईंका श्रीमानले आत्महत्या गरे, तुरुन्त हिँड्नुस्!
माघ अन्तिमतिरै ललितपुरस्थित डेरामै छाडेर आएका पति रमेशकुमार तामाङले एक्कासि माइती गाउँमा आत्महत्या गरे भन्ने खबर सुन्दा प्रमिला आश्चर्यमा परिन्। तर चार/चार जना प्रहरीले नै भनेको कुरा कसरी नपत्याउने! निर्देशनबमोजिम उनी रातको समय ती ‘प्रहरी’को पछिपछि लागिन्।
माइती घरबाट करिब १०० मिटर पर जंगलमा पुगेपछि प्रमिलाका श्रीमान् रहेछन्, तर जिउँदै! त्यसपछि ती ‘प्रहरी’ प्रमिलालाई श्रीमानको जिम्मा लगाएर बेपत्ता भए।
आफूलाई नसोधी माइत आएका कारण रमेशकुमार पत्नीसँग निकै रिसाएका थिए। भेट्नासाथ उनले प्रमिलालाई घाँटीमा प्लास्टिकको डोरीले कसे, हात तारले बाँधिदिए र ‘तँलाई पनि मार्छु, म पनि मर्छु’ भन्दै पिट्न थाले। त्यसपछि मात्र उनले थाहा पाइन्, ती ‘प्रहरी’हरूले उनलाई झुक्याएका रहेछन्। तर कसोकसो उनी फुत्किन सफल भइन्।
त्यसपछि भोलिपल्ट फागुन २८ गते उनले संखुवासभा जिल्ला प्रहरी कार्यालयमा ठाडो निवेदन दिइन् भने २९ गते ज्यान मार्ने उद्योगअन्तर्गत उजुरी दर्ता गरिन्। त्यस आधारमा प्रहरीले उनका श्रीमान ३४ वर्षीय रमेशकुमार तामाङसहित घटनामा संलग्न २ जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार पक्राउ परेका अर्का व्यक्ति हुन्- नक्कली प्रहरी बनेर गएका संखुवासभाकै पाँचखपन नगरपालिका–४ घर भई तुम्लिङटार बस्ने वर्ष ३० का अर्जुन तामाङ (प्रहरी नायब निरीक्षकको पोसाक लगाउने)।
पक्राउ परेका दुई अभियुक्तविरुद्ध संखुवासभा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको र प्रहरी बनेका अरू तीन जना फरार रहेकाले खोजी भइरहेको संखुवासभा प्रहरीले जानकारी दिएको छ।