संखुवासभाको खाँदबारी नगरपालिका वडा नम्बर ८ स्थित माइती घरमा बसिरहेका बेला गत फागुन २७ गते राति ११ बजेतिर चार जना प्रहरी प्रमिला कम्मर सार्कीलाई भेट्न आए र अत्यन्तै अप्रिय खबर सुनाए– तपाईंका श्रीमानले आत्महत्या गरे, तुरुन्त हिँड्नुस्!
माघ अन्तिमतिरै ललितपुरस्थित डेरामै छाडेर आएका पति रमेशकुमार तामाङले एक्कासि माइती गाउँमा आत्महत्या गरे भन्ने खबर सुन्दा प्रमिला आश्चर्यमा परिन्। तर चार/चार जना प्रहरीले नै भनेको कुरा कसरी नपत्याउने! निर्देशनबमोजिम उनी रातको समय ती ‘प्रहरी’को पछिपछि लागिन्।
माइती घरबाट करिब १०० मिटर पर जंगलमा पुगेपछि प्रमिलाका श्रीमान् रहेछन्, तर जिउँदै! त्यसपछि ती ‘प्रहरी’ प्रमिलालाई श्रीमानको जिम्मा लगाएर बेपत्ता भए।
आफूलाई नसोधी माइत आएका कारण रमेशकुमार पत्नीसँग निकै रिसाएका थिए। भेट्नासाथ उनले प्रमिलालाई घाँटीमा प्लास्टिकको डोरीले कसे, हात तारले बाँधिदिए र ‘तँलाई पनि मार्छु, म पनि मर्छु’ भन्दै पिट्न थाले। त्यसपछि मात्र उनले थाहा पाइन्, ती ‘प्रहरी’हरूले उनलाई झुक्याएका रहेछन्। तर कसोकसो उनी फुत्किन सफल भइन्।
त्यसपछि भोलिपल्ट फागुन २८ गते उनले संखुवासभा जिल्ला प्रहरी कार्यालयमा ठाडो निवेदन दिइन् भने २९ गते ज्यान मार्ने उद्योगअन्तर्गत उजुरी दर्ता गरिन्। त्यस आधारमा प्रहरीले उनका श्रीमान ३४ वर्षीय रमेशकुमार तामाङसहित घटनामा संलग्न २ जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार पक्राउ परेका अर्का व्यक्ति हुन्- नक्कली प्रहरी बनेर गएका संखुवासभाकै पाँचखपन नगरपालिका–४ घर भई तुम्लिङटार बस्ने वर्ष ३० का अर्जुन तामाङ (प्रहरी नायब निरीक्षकको पोसाक लगाउने)।
पक्राउ परेका दुई अभियुक्तविरुद्ध संखुवासभा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको र प्रहरी बनेका अरू तीन जना फरार रहेकाले खोजी भइरहेको संखुवासभा प्रहरीले जानकारी दिएको छ।
यस्तो छ घटना
संखुवासभा पाँचखपन नगरपालिका ४ होक्सेका रमेशकुमार तामाङ र संखुवासभकै खाँदबारी नगरपालिका–८ की प्रमिला कम्मर सार्कीबीच २०७२ सालमा प्रेम विवाह भएको हो। विवाहपपछि दुवै जना ललितपुरमा फर्निचर व्यवसाय गरी डेरामा बस्न थाले। तर पछिल्ला ५–६ महिनायता उनीहरूबीच मनमुटाव बढ्दै गयाे। सोही कारण गत माघ अन्तिमतिर प्रमिला श्रीमानलाई नसोधी माइत हिँडिन्।
त्यसपछि उनका श्रीमान रमेशकुमारको दिमागमा आपराधिक सोचको विकास भयो। उनले एउटा योजना बनाए र फागुन २१ गते बेलुका काठमाडौंमा सामान्य चिनजान भएका चार जनालाई भेटेर आफ्नो पारिवारिक समस्या समस्या र योजना सुनाए।
सल्लाहअनुसार उनीहरूले काठमाडौंको बागबजारस्थित नाम थाहा नभएको एक टेलर्सबाट नक्कली प्रहरीका पोसाक भाडामा लिए। प्रहरीका अनुसार प्रतिजोर प्रतिदिनको ५ सय रुपैयाँका दरले २ दिनका लागि रमेशकुमार तामाङले आफ्नो नागरिकता राखी प्रहरीको नक्कली पोसाक भाडामा लिए।
त्यसपछि ती चार साथी लिएर रमेशकुमार काठमाडौंबाट फागुन २६ गते खाँदवारी पुगे र एक होटल बास बसे। त्यसपछि योजनाबमोजिम उनीहरू भोलिपल्ट अर्थात् फागुन २७ गते प्रमिलाको माइती घरतर्फ लागे। रमेशकुमार ससुराली घरभन्दा सय मिटर पर जंगलमै बसे भने प्रहरीको पोसाक लगाएका ४ साथीलाई रातको ११ बजेतर प्रमिला भेट्न उनकाे माइती घर पठाए।
अनि उनीहरुले तपाईंको श्रीमानले आत्महत्या गरेका छन् भनेर झुक्याई उनलाई घर नजिककैको जंगलामा पुर्याए, जहाँ उनका श्रीमान उनलाई मार्ने याेजनाका साथ बसेका थिए। तर प्रमिला फुत्किन सफल भएका कारण ज्यान बचेकाे प्रहरीले जनाएकाे छ।