एमसीसी प्रकरणमा माओवादी र समाजवादीको नौटङ्की अर्थात् दोहोरो चरित्र देखिएको छ । समाजवादी र माओवादी नेतृत्वले सरकार पनि नछाड्ने र दुबै पार्टीका जनवर्गीय सङ्गठन सडकमा पठाएर दोहोरो चरित्र देखाएका हुन ।
सरकारले आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल गर्ने तयारी गरेपछि सत्ता साझेदार नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका जनवर्गीय संगठनले आन्दोलन थालेका हुन् ।
माओवादी केन्द्र निकट अनेरास्ववियु (क्रान्तिकारी) र वाइसियलले यथास्थितिमा एमसीसी टेबल गर्ने कदमविरुद्ध संसद भवन बानेश्वर घेराउ गर्ने भएको छ। अनेरास्ववियुका नेताहरुका अनुसार बिहान ११ बजे बानेश्वरस्थित एभरेस्ट होटल अगाडि भेला भएर संसद भवनसम्म प्रदर्शन गरिनेछ । एमसीसीबारे रणनीति तय गर्न आज बिहान १० बजे माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दैछ । त्यस्तै, एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियुले पनि एमसीसीविरुद्ध संसद भवन घेराउ गर्दैछ ।
एमसीसीविरुद्ध अन्य दल र समूहले पनि प्रदर्शन गर्दैछन् । एमसीसीकै विरोधमा आज नेपाल बन्दको घोषणा गरेका नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (मसाल) र नेपाल कम्युनिस्ट पार्टी लगायत पाँच कम्युनिस्ट पार्टीले देशभर प्रदर्शन गर्ने कार्यक्रम छ ।
उपत्यकामा दिउँसो १२ बजे माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म विरोध प्रदर्शन हुने नेताहरुले बताएका छन् ।‘एमसीसीविरुद्ध जनआन्दोलन-२०७८’ ले पनि बिहान ११ बजे माइतीघरदेखि संसद भवनसम्म प्रदर्शन गर्ने कार्यक्रम छ ।
पूर्वसुरक्षाकर्मी परिषद् र नेपालका लागि नेपाली पार्टीले बिहान साढे ११ बजे माइतीघरमा एमसीसीको विरोधमा मौन जुलुस गर्ने कार्यक्रम छ ।
राप्रपाका भातृ संगठनले पनि दिउँसो १२ बजे बबरमहलदेखि संसद् भवनसम्म विरोध प्रदर्शन गर्ने कार्यक्रम छ ।‘हाम्रो नेपाल, हामी नेपाली अभियान’ले दिउँसो १२ बजे माइतीघरमा विरोध प्रदर्शन गर्दैछ ।
अन्य सत्तामा नरहेका दलको विरोध स्वाभाविक भए पनि माधव नेपाल नेतृत्वको समाजवादी र प्रचण्ड नेतृत्वमा रहेको एकीकृत माओवादीको विरोध गर्ने शैली दोहोरो चरित्रको देखिएको छ । पार्टी सत्तामा पनि बस्ने र सडकमा पनि विरोध गर्न आफ्ना जनवर्गीय सङ्गठनलाई ओतप्रोत गर्ने शैली आफै झार्कि आफै बोक्सी जस्तो चरित्र देखिएको विभिन्न सामाजिक सञ्जालहरूमा प्रतिक्रिया आउन थालेका छन् ।