नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनका लागि आयोजक जिल्ला काठमाडौँमा मात्रै करिब १० हजार पार्टीका झण्डा र चुनाव चिन्ह रुख अङ्कित झण्डा सडकका पोलमा राख्न सुरुआत गरिएको छ ।
पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आज पार्टीको झण्डा हस्तान्तरण गरी महाधिवेशनस्थल भृकुटीमण्डपबाट पोलमा झण्डा लगाउने अभियानको प्रारम्भ गरेका हुन् । प्रचारको विविध प्रक्रियाअनुसार आज सडकका पोलहरुमा झण्डा लगाउने तथा विभिन्न स्थानमा स्वागत गेट बनाउने कार्य प्रारम्भ गरेको उनले जानकारी दिए । महाधिवेशनका लागि स्वागतद्वार तथा श्रङ्गारको जिम्मेवारी पाएका कांग्रेस काठमाडौँका सचिव गोविन्द पुडासैनी संयोजकत्वको उपसमितिले कोटेश्वर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौशाला, माइतीघर मण्डला, त्रिपुरेश्वर, थापापली, कालिमाटी, त्रिचन्द्र कलेज, बागबजार, सिंहदरबार, महाराजगञ्ज, बल्खु, बालाजु क्षेत्रमा ठूला १४ स्वागतद्वार बनाउन सुरु गरेको छ । यसबाहेक महाधिवेशनस्थल भृकुटीमण्डप वरपर झण्डै १० स्वागतद्वार बनाइने सचिव पुडासैनीले बताए ।
कांग्रेसले उत्साह, एकता र रुपान्तरण, सफल बनाऔँ नेपाली कांग्रेसको १४औँ महाधिवेशन भन्ने प्रचारात्मक नारा पनि तय गरेको छ । कांग्रेसको १४औँ महाधिवेशन यही मङ्सिर २४ देखि २७ गतेसम्म काठमाडौँमा हुँदैछ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।