काठमाडौंका १० वटै प्रतिनिधि सभा क्षेत्रमा नेपाली कांग्रेसले पार्टी अधिवेशन सम्पन्न गरेको छ। काठमाडौं कांग्रेसमा पूर्वमहामन्त्री प्रकाशमान सिंहको पकड राम्रो देखिएको छ। काठमाण्डौ क्षेत्र नम्बर ४ मा भने गगन थापाले आफ्नो पकड कायम गरेका छन् । एक-दुई महाधिवेशन प्रतिनिधि बाहेक ४ नम्बर क्षेत्र गगनको उपस्थिति बलियो देखिएको छ ।
दशमध्ये आठ क्षेत्रमा पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य गगन थापानिकट जितेका छन्। यी क्षेत्रमा निर्वाचित अधिकांश महाधिवेशन प्रतिनिधि पनि सिंह-थापानिकट नै छन्।
सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षले एक/एक प्रतिनिधि सभा क्षेत्रमात्रै जितेका छन्। देउवानिकट कविर शर्मा क्षेत्र नम्बर २ मा सभापति भए भने क्षेत्र नम्बर ६ मा सिटौलानिकट श्याम खड्गी सभापति निर्वाचित भएका छन्।
सिंह-थापाले वडा, पालिका, प्रदेश सभा क्षेत्रीय अधिवेशन हुँदै प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनसम्म पनि सहकार्य गरेका थिए। अब मंसिर १० मा हुने जिल्ला अधिवेशनमा पनि सिंह-थापा जोडीबाट संयुक्त रूपमा उम्मेदवार तय गरिने स्रोतले जनाएको छ।
अहिले काठमाडौं सभापति रहेका कृष्णसबुज बानियाँ नै फेरि एक कार्यकालका लागि सभापतिमा उठ्ने तयारीमा छन्। उनी नेता सिंहनिकट हुन्।
प्रतिनिधि सभा क्षेत्रमध्ये थापाको क्षेत्र, काठमाडौं -४ मा सर्वसम्मत नेतृत्व चयन भएको छ। जसमा थापानिकट नेताहरू प्रतिनिधि सभा क्षेत्रीय सभापति र महाधिवेशन प्रतिनिधि चुनिएका छन्।
थापानिकट राजु थापा, न्हुच्छेनारायण श्रेष्ठ, रामकाजी श्रेष्ठ, राजु श्रेष्ठ, विनोद चालिसे, भोलानाथ लामिछाने, अच्चुत पौडेल, श्रीराम लामिछाने, मनोज वैद्य, अरुण सिंह बस्नेत, दिब्यमणिराज भण्डारी, सत्यमान लामा, विनोदबाबु प्रधान, रामकृष्ण केसी, रिता बुढाथोकी, कल्पना मल्ल ठकुरी, मीना पराजुली, नर्भदा पोखरेल, ईन्दिरा सिंह श्रेष्ठ, राजु परियार, गणेशकुमार कोइराला, ध्रुवप्रसाद पौडेल, शशी रिमाल, राधा घले, शुशील नाहाटा महाधिवेशन प्रतिनिधि चयन भएका छन्।
क्षेत्र नम्बर ४ को सभापतिमा श्यामकृष्ण संगत सर्वसम्मत प्रतिनिधि सभा क्षेत्रीय सभापति भएका थिए। क्षेत्रीय सभापति पनि स्वत: महाधिवेशन प्रतिनिधि हुने व्यवस्था छ। क्षेत्रीय सभापतिसहित सबै महाधिवेशन प्रतिनिधि थापा पक्षका हुन्।