प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यका भाइ राम आचार्यको मृत्यु बिषसेवनबाट भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । शवको पोस्ट मार्टममा संलग्न भएकी जिल्ला अस्पताल सुनसरीकी डाक्टर श्रीया पंगेनीका अनुसार उनको पेटमा बिषादीको असर देखिएको थियो ।
शरिरमा कुनै चोटपटक नभए पनि पेटमा झार मार्ने औषधीको असर देखिएको उनले जानकारी दिइन् ।
पंगेनीले भनिन्, ‘झार मार्ने बिषकै सेवनले मृत्यु भएको भित्री अंगहरुमा भएको असरहरुले देखिएको छ । अब कस्तो र कुन बिषबाट भन्ने भिसेरा रिपोर्ट आएपछि मात्रै भन्न सकिन्छ ।
जिल्ला अस्पताल सुनसरीमा भिसेरा रिपोर्टका पुर्वाधार र जनशक्ति नभएकोले रिपोर्टको लागी बाहिरी ल्याबमा लानुपर्ने डाक्टर पंगेनीको भनाइ छ । भिसेरा परीक्षण पेटभित्रका अंगहरुमा परेको असर हेर्नलाई गरिन्छ ।
आचार्यले बिगत दश बर्षदेखि डिप्रेसनको औषधि सेवन गर्दै आएको पनि खुलेको छ । गम्भीर मानसिक रोगबाट पिडित रहेका उनलाई पछिल्लो दुई बर्षदेखि घरभित्रै राखिएको थियो । हत्पती कोठाबाट बाहिर निस्किन दिइन्नथ्यो । उनी आफ्नो कोठामा एक्लै सुत्थे ।
बाहिर निस्केपछि बेसुरले जहाँसुकै हिँड्ने भएकाले सम्भावित दुर्घटनाबाट जोगाउन घरमै राखिएको पाइएको छिमेकी बसन्त सुबेदीले बताए ।
आज बिहान ढिलोसम्म पनि नउठेकोले बोलाउँदा मृत भेटिएको स्थानिय सुबेदीको भनाइ छ । शव नजिकै विषको बट्टा भेटिएको उनले बताए ।
पोष्टमार्टमपछि आचार्यको आजै स्थानीय सुनसरी नदीमा अन्त्येष्टी गरिएको छ ।