शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

मछिन्द्र क्लब र पिस प्वाइन्ट बिच सम्झौता, फुटबल एकेडेमी सञ्चालन गरिने


  • आइतबार, साउन ३१ २०७८
20.2K
SHARES

काठमाडौँ । मछिन्द्र क्लब र कात्यानी चोक, मध्य वानेश्वरमा रहेको पिस प्वाइन्ट एकेडेमी र एन्फा बिच नयाँ त्रिपक्ष सम्झौता भएको छ । लिग च्याम्पियन मछिन्द्रसंग फुटबल एकेडेमी सञ्चालन गर्न आइतबार पिस प्वाइन्ट बिच नयाँ सम्झौता भएको हो ।

पिस प्वाइन्टको तर्फबाट प्रिन्सिपल इशु गुरुङ र मछिन्द्रको तर्फबाट अध्यक्ष सुनिल कपालीले सम्झौतामा हस्ताक्षर गरेका छन् । यस्तै उक्त सम्झौतामा एन्फाका उपाध्यक्ष, ग्रासरुट तथा युवा संयोजक उपेन्द्रमान सिंहले समेत हस्ताक्षर गरेका छन् ।

क्लब र विद्यालय बिच ६ वर्षका लागि सम्झौता गरिएको छ । ‘मछिन्द्र पिस प्वाइन्ट यूथ फुटबल एकेडेमी’ सञ्चालन गर्न उक्त सम्झौता गरिएको हो । फुटबलमा विशेष क्षमता भएका युवाहरूलाई अवसर प्रदान गर्न फुटबल एकेडेमी सञ्चालन गर्न लागिएको प्रिन्सिपल गुरुङले केटिएम खबरलाई बताइन् ।

‘उसो त पिस प्वाइन्टले निजी शिक्षालयमा देशकै ठुलो फुटबल टुर्नामेन्ट ‘पिस प्वाइन्ट कप’ हरेक वर्ष गर्दै आएको छ ।’ प्रिन्सिपल गुरुङ भन्छिन्, ‘चौथो सिजनसम्म भव्यताका साथ गर्‍यौ । कोरोनाका कारण गत वर्षदेखि टुर्नामेन्ट हुन पाएकाे छैन तर पनि फुटबलका अन्य गतिविधिहरूलाई भने सुचारु गरिरहेका छौँ । फुटबललाई विशेष प्राथमिकतामा राख्दै अगाडी बढिरहेको पिस प्वाइन्टले आफ्ना विद्यार्थी तथा फुटबलमा करिअर खोजिरहेका युवाहरूलाई अवसर दिन मछिन्द्र क्लबसँग सहकार्य गरेका छौँ । आशा छ यसबाट फुटबल विकासमा थप इट्टाको काम गर्नेछ ।’

फुटबल एकेडेमीमा विद्यालयको तर्फबाट ७ जना र बाह्य टिमबाट ७ गरी १४ खेलाडीले पहिलो वर्ष अवसर पाउने छन् भने दोस्रो वर्ष क्लबको तर्फबाट थप ७ जना थप गरी २१ जना खेलाडीहरूलाई अवसर दिइने जनाइएको छ ।

सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको सम्झौता समारोहमा एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पा, मछिन्द्रका पदाधिकारी, पिस प्वाइन्ट एकेडेमी टिम तथा फुटबलसँग सरोकार राख्ने विभिन्न व्यक्तिहरूको उपस्थिति रहेको थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा