देशका मुख्य सहरहरुमा जारी भएको निषेधाज्ञाका बीच पनि सेयर बजारमा भने हरियाली छाएको छ ।
साताको पहिलो कारोबार दिन आइतबार नै सेयर बजार परिसूचक नप्से २ प्रतिशतमाथिले बढेको छ । गएको बिहीबार २६११.१ अंकमा बन्द भएको नेप्से आज ५४ अंकले वृद्धि हुँदा २६६५.१ अंकमा बन्द भएको छ ।
आज प्रिओपन सेसनमा नै साढे १६ अंकभन्दा माथिले बढेर २६२७.८२ अंकमा खुलेको नेप्सेमा सुरुवाती समयमा बिक्री चाप बढेको हुँदा केही उतार–उढाव देखिए पनि खरिद चाप हाबी हुँदा नेप्से उच्च अंकले बढेको छ । ‘इन्ट्रा–डे’ कारोबारमा नेप्से २६१०.८१ अंकसम्म झर्यो भने उच्च विन्दुमा पुगेर बन्द भयो ।
बजार परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । गएको बिहिबार ४ अर्बबाट तल झरेको कारोबार रकम आज सवा ७ अर्ब नाघेको छ । १ करोड ५८ लाख ३२ हजार ४०३ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ३६ करोड ८ लाखको कारोबार भएको छ ।
बजारमा सबै उपसूचकमा हरियाली छाउँदा अन्य उपसूचक ४.६३ प्रतिशतले बढेको छ । यस्तै, जीवन बिमा उपसूचक ३.७४ प्रतिशतले वृद्धि हुँदा निर्जीवन बिमा उपसूचक ३.४७ प्रतिशत र बजारलाई लिड गर्ने बैंकिङ उपसूचक भने १.१२ प्रतिशतले बढेको छ ।
एनसीसी बैंकले कारोबार रकममा लिड गरेको छ । बैंकको सर्वाधिक ४२ करोड २ लाख ४४ हजारको कारोबार हुँदा नेपाल पुनर्बिमा कम्पनीको ४० करोड ३२ लाख २८ हजार र नेपाल दूरसञ्चार कम्पनीको ३२ करोड ४४ लाख १४ हजारको कारोबार भएको छ ।
आज नेप्सेमा विशालबजार कम्पनी, महिला लघुवित्त र सिंगटी हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।