कोरोनाभाइरसको नयाँ भेरियन्ट फैलिएसँगै काठमाडौं उपत्यकाका अस्पतालहरूमा गम्भीरखाले संक्रमित बढ्न थालेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार काठमाडौं उपत्यकाका अस्पतालमा अहिले ६१ जना आइसियूमा उपचाररत् छन्। जसमध्ये ४७ जनालाई भेन्टिलेटरमा राखिएको छ।
मन्त्रालयले शनिबार जारी गरेको आँकडाअनुसार अहिले उपत्यकामा मात्र झन्डै ६ सय संक्रमितको उपचार भइरहेको छ। नयाँ भेरियन्ट नेपालमा पनि भित्रिएपछि चैत यता उपत्यकाका अस्पतालहरूमा भर्ना हुने संक्रमित बढेका हुन्।
चैत अगाडिसम्म अस्पतालमा छिटफुट संक्रमित रहेकोमा अहिले उपत्यकाका धेरैजसो अस्पतालमा संक्रमितको चाप बढेको छ।
सरूवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुन भेन्टिलेटरमा संक्रमित बढ्नु भनेको जटिल अवस्थातिर जानु रहेको बताउँछन्।
डाक्टर पुनले भने, ‘आइसियूमा रहेकामध्ये दुई तिहाइभन्दा बढी संक्रमित भेन्टिलेटरमा रहनु भनेको जटिल अवस्था हो। भेन्टिलेटरमा गएपछि बाँच्ने सम्भावना नै क्षीण हुँदै जान्छ। जसले गर्दा मृत्युदर बढ्न जान्छ।’
उनले अहिलेको नयाँ भेरियन्ट पहिलेको भेरियन्टभन्दा घातक रहेको उल्लेख गर्दै अहिलेको संक्रमणको अवस्था उत्कर्षतिर लम्किरहेको बताए।
‘अघिल्लो लहरमा उत्कर्षमा पुगेको बेलाजस्तो अवस्था देखिएको थियो, त्यो अहिलेको दोस्रो लहरको सुरुवातमै देखिएको छ। यही अवस्था निरन्तर रहिरहे अझ समस्या देखिनसक्छ,’ डाक्टर पुनले भने।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।