
२८ मंसिर, काठमाडौँ ।
निजी विद्यालयहरुको छाता संगठन राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन नेपाल (एन प्याब्सन) काठमाडौँको आयोजनामा तेश्रो एन प्याब्सन बृहत सप्ताह व्यापी खेलकुद महोत्सव–२०७६ पौष १ गतेदेखि सुरु हुने भएको छ । प्रतियोगीताको सम्पुर्ण तयारी पुरा भएको आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ ।

शनिवार सम्बाद चौतारीमा पत्रकार सम्मेलनको आयोजना गरि आयोजकले दिएको जानकारी अनुसार पौष १ गते टुँडिखेलमा २ हजार भन्दा बढि विद्यार्थीहरुको मार्च पास सहित महोत्सवको भव्य उद्घाटन गरिने छ ।

नेपाल सरकारका महिला बालवालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङको प्रमुख आतिथ्यतामा उद्घाटन हुने खेल मोहत्सव एक सातासम्म सञ्चालन हुने छ ।

खेल महोत्सवमा जुनियर फुटसल, टेबल टेनिस, सिनियर बास्केटबल,सिनियर क्रिकेट ,छात्रा व्याटमिन्टन लगायतका खेलहरुमा नेशनल प्याब्सन काठमाडौँमा आवद्ध सदस्य विद्यालयका विद्यार्थीहरु विच प्रतिस्पर्धा हुनेछ ।
खेलहरु फरक फरक स्थानमा संचालन हुने पनि आयोजकले जनाएको छ ।

साताव्यापी खेल मोहत्सवमा ५ हजार भन्दा बढि विद्यार्थीहरुले प्रतियोगिका रुपमा सहभागीता जनाउँने र यस्ता कार्यक्रमले समग्र राष्ट्रकै खेल क्षेत्रको विकासमा महत्वपुर्ण योगदान गर्ने एन प्याब्सन काठमाडौँका अध्यक्ष विष्णु पराजुलीले बताए ।