सर नमस्कार ,
आज पनि मोबाइलको मेसेज हेरेँ । नयाँ मेसेज देखिन । सदा त महिना सकिने बित्तिकै बैँकबाट जति भए पनि रकम जम्मा गरिएको मेसेज आउँथ्यो । तर यसचोटी ४ महिना भो अहँ पर्खाइमा नै बितिरहेका छन् दिनहरु । तर सर खै केको पर्खाइमा हो भन्ने चैँ दोधारमा छु । सानासाना नानीबाबु छन् । तिनीहरुको अबोधपन देख्दा खुसी खाग्छ । भनिन्छ नि ‘ केटाकेटीले रोइदिंदा भैजान्छ पाहुनाले आइदिदा भइजान्छ’ । तर स्थिति पक्कै पनि सोचेजस्तो छैन । स्कुल सञ्चालकलाई भनौँ स्कुल घाटामा चल्दैथ्यो । हरेक महिना ऋण खोजेर सञ्चालकले तलब समयमा नै खुवाउँदा उनीहरुको माया लाग्थ्यो । अस्वस्थ प्रतिस्पर्धाका कारण विद्यार्थीहरु वर्षेनी आउने जाने क्रममा अस्थिरता हुन्थ्यो । जब नयाँ शैक्षिक सत्र सुरु हुन्थ्यो तब सञ्चालकहरु निरासाको अनुहार लिएर भन्थे ‘ल है अब यो सेसन पनि तपाईँहरुकै जिम्मामा छ है सर म्यामहरु’ । धेरैचोटी सञ्चालकलाई फोन गर्न आँट गरेँ तर बिचरा उनीहरुको फेसबुक स्टाटस हेर्दै आफैँ निरास हुन्थेँ । लकडाउन सुरु हुनेसाथ सरकारले राहत दिने भो । सुरुमा त मन फुरुङग भयो तर निजी स्कुलमा काम गर्ने शिक्षक तथा कर्मचारीलाई राहत नदिने निर्णय गाउँपालिकाले गरेपछि हिस्रिक्क परेँ । राहत लिन जाने भनेर सानो तोतेबोल्ने छोरो पनि खुसीले बुरुकबुरुक उफे्रको थियो । तर बिस्तारै सञ्चारमाध्यममा बहस हुन थाले ‘के यतिखेर निजी विद्यालयहरुले तलब खुवाउन सक्छन् त ? अनि उनीहरुले ऋण लिएर चलाइरहेका छन् भने किस्ता कसरी तिर्न सक्छन् त? उनीहरुको स्कुल चलिरहेको घरभाडा नि कसरी तिर्नसक्छन् त? जस्ता अनेकौँ प्रश्नहरु आइरहन थाले । बिस्तारै निजी विद्यालय सञ्चालकहरु , जो अलि पुराना र उच्च घरानिया छन् ; ले भन्न थाले ‘ नो वर्क नो पे’। यस्तो सुनेपछि मेरो मनमा एक्कासी प्रश्न आयो । अरे बा ! ठिक छ नो वर्क नो पेले तलबको तनाव त तत्काल हट्ला रे किनकि हामी शिक्षक तथा कर्मचारीले काम गरेका छैनौँ तर उनीहरुको ऋणको किस्ता नि ? अनि स्कुलको घरभाडा नि ? ……कि त्यो पनि ‘नो जब नो पे’ हो त ? त्यसो हो भने त मैले पनि त घरभाडा तिर्नुनपर्ला किनकि मेरो पनि जब छैन अहिले । नो जब नो पे कै हालतमा छु ।
खै सर ! प्राइभेटमा नै भएपनि काम गरेर यसो बच्चाबच्ची पढाउनलाई दुःख गरिएको थियो , तर अब गाउँ जानुको बिकल्प रहेन सर । सहरमा राखेका बच्चाले अलि केही नयाँ कुरो बढी सिक्छन् कि भन्ने आसा थियो । सबै तहसनहस भयो सर । खै कसलाई के भन्नु र ! । आखिर यहाँ पनि दुःखले नै केटाकेटीका लागि बसिएको थियो । जम्मा एउटा कोठामा एउटा खटिया, ग्यास चुलो , एउटा साधारण दराज र किताबको र्याकले जिन्दगी चलिरहेको थियो । रहर त थिए होलान् नि निकै तर रहरको तिलाञ्जली दिंदै बसियो । आज आएर यो हालत भयो सर । अब कोठाको भाडा नतिरेको पनि ४ महिना भैसक्यो। घरबेटीले ढोका ढकढकाउन थालेकै एक महिना भैसक्यो । उनीहरुको पनि घर बैँकको ऋण लिएर बनाएका रहेछन् । भाडाको आसाले धानेका रहेछन् तर सब चौपट भएपछि कसको के लाग्छ र यहाँ । सकेसम्म इमान्दारिता र धैर्यता गुमाउदिन सर, तर सकिएन भने के गर्नु सर ! मर्नुभन्दा बौलाउनु निको भन्छन् ।
पेसा मास्टरी भएरै होला ऋणमा पनि कसैले नपत्याएको । ऋण दिन र लिन पनि लवाइखुवाइ र अलिअलि दम चाहिने होकि के हो सर, म त खासै यस्तो कुरो जान्दिन तर यसो लख काटेको नि । म घरिघरि सानो भोलुम बनाएर मोबाइलमा रेडियो सुन्छु सर । खै किन हो निजी विद्यालयप्रति अहिले सरकारदेखि नेतासम्म, नेतादेखि कार्यकर्तासम्म , अभिभावकदेखि अभियन्तासम्म नेगेटिभ बनेका हुन् , त्यति मेलो पाइन सर तर अलि पूर्वाग्राही सोच चाहिँ पक्कै होला सर ।
आखिर संविधानप्रदत्त अधिकार हो आफ्नो पेसा व्यवसाय चलाउन पाउने । आज माध्यमिक तहसम्मको अधिकार निशुल्क गर्ने भनेर संविधानका कुरा सरकारले घोकेर भने पनि वास्तविकता गाह्रो छ सर । मलाई त त्यति आउँदैन यस्तो कुरो तर निजीकरण तथा उदारताको कुरो त अहिले संसारकै साम्यवादी तथा समाजवादी व्यवस्थामा पनि अकाट्य छ त । यहाँ पक्कै ठुलै चलखेल छ सर । एउटाले अर्कोलाई निषेध गरेर जाने पद्धति नेपालमा हिजोदेखि कै हो तर बचेर काम गर्नुहोला है सर । सामुदायिक विद्यालयलाई व्यवस्थित गरोस् न सरकारले, राजनीति निषेध गरोस् न शिक्षकलाई , अनुगमन पारदर्शी र निष्पक्ष गरोस् न, लगानीको प्रतिफल खोज्न सिकोस् न , अनि निजी विद्यालय आफैँ बन्द हुन्छन् तर निषेध गरेर त अमानवीय काम हुँदैछ सर सरकारको । लगभग ११ हजार निजी विद्यालयका २.५ लाख शिक्षक कर्मचारीको जीवन तथा रोजगारीको कुरो छ नि यहाँ । लाखौँ विद्यार्थीहरु यसमा अध्ययनरत छन् । के यस परिस्थितिमा ती विद्यार्थीलाई व्यवस्थापन गर्नसक्ने योजना तथा क्षमता सरकारसँग छ त ? त्यसैले सर , कृपया मैले शुभचिन्तकका नाताले यति चाहिँ भन्ने आँट गरेँ ‘ केही ११ कक्षा चलाउने र माफियाकरण फैलाउनेहरुको मिलेमतोमा सी परीक्षा खारेज भएसँगै यसमा पनि ठुलो षड्यन्त्र भने प्रस्ट देखिन्छ । यसमा देशीभन्दा पनि विदेशी दलालको हात रहेजस्तो देखिन्छ सर ।
सिकाइको बिकल्पका रुपमा अनलाइन कक्षा सुरु गर्ने माहोल सिर्जना हुनु त एकदमै गर्वको कुरो हो सर । सिकाइलाई प्रविधिसँग जोड्ने गतिलो मौका पनि हो । यस समयलाई सदुपयोग गर्नसके हाम्रा विद्यार्थीले नवीन ढङ्गले सिक्न सक्थे सर । बिचराहरु मोबाइल मात्रै हेर्न पाउँदा कति खुसी हुन्थे झन् मोबाइलजस्ता उपकरणबाट नै कक्षा हुने तथा सिक्न सकिने भएदेखि विद्यार्थीमा अर्कै किसिमको उर्जा हुन्छ सर । बरु अनलाइनलाई अलि व्यवस्थित गरेर कक्षा राम्ररी चलाउन म सहयोग गर्छु नि सर । यस्तो बेला संस्था धरापमा छ । हामी मिलेर संस्थालाई खुट्टा टेकाउन सक्योैँ भने हामीलाई यस स्कुलले पाल्न सक्ला नि सर । कि के सोच्नु भएको छ ? हुन त हाम्रा सामु प्रश्नै प्रश्न छन् सर । शैक्षिक सत्रको सुरु कहिलेदेखि गर्ने ? भर्ना कहिलेदेखि गर्ने? शिक्षक कर्मचारीहरु बाँचे भने विद्यार्थीको सिकाइ बाँच्छ, अनि त हामी सबै गुणस्तरीय शिक्षाको कुरो गर्न पाउँछौँ त । शिक्षाको बैकल्पिक माध्यमबाट हुने पठनपाठन गर्ने विषय कस्ता हुने ? के अहिलेको एन्टिक मोडेलको शिक्षणका लागि बनेका सामग्रीले भर्चुअल सिकाइको अपेक्षा पूरा गर्न सक्छ त ? अनि प्रविधिमैत्री सामग्री कहाँ पाइन्छ र कसले बनाउँछ त त्यो ? स्मार्ट डिभाइसमा को कतिजना परिचित छौँ त ? मलाई त त्यसबारे थाहा छैन सर । बालमैत्री तथा प्रविधिमैत्री सामग्री निर्माण र प्रयोग गर्नसक्ने शिक्षक वा जनशक्ति हामीसँग छ त ? छैन भने कसरी व्यवस्थापन गर्ने त ? जस्ता कुरा हाम्रा सामु अनुत्तरित छन् सर तर हाम्रो मोडेलमा अनलाइनमा पढाउन सक्छौँ हामी पनि त्यसैले सुरु गरौँ सर । मलाई त ती केटाकेटीले पढ्न र लेख्न नै बिर्सिसकेहोलान् भनेर ठुलो चिन्ता लागिरहेको छ सर । कम्तीमा लेख्न र पढ्न त सहजीकरण गराउन सकिन्छ ।
खै हामी शिक्षक तथा कर्मचारीको त जीवन नै धरापमा पर्न आँट्यो सर केही बिकल्प खोज्नु पर्यो । उता विद्यार्थीहरुको मनोविज्ञान उस्त्ौ खतरामा छ सर । मलाई हिजोमात्रै अहिले १० मा पुगेको विद्यार्थीले कस्तो मार्मिक लेटर लेखेर पठाको छ सर । हेर्नु त सर :
गुड अफ्टरनुन सर !
सर, हजुरहरुले भन्नु भएको थियो नि स्कुल १/२ हप्तापछि खोल्ने भनेर । चाँडै स्कुल खोल्नु न सर ।यसरी घरभित्रै थुनिएर र बसेर त सी परीक्षा दिनु र नदिनुमा केही फरक हुँदैन । राम्रो पढेर राम्रो रिजल्ट ल्याउँछु र अघि बढ्छु भन्ने भन्दा यस्तो प्रब्लम आयो सर ।
सिनियर ब्याचको दाइ दिदीहरुले आनन्दले पढ्न पनि पाउनु भयो परीक्षा नै नदिई पास पनि हुनुभयो । हामीले त सर राम्री पढ्न पनि पाएनौँ, मगभ तय अयचयलब , त्यहीमाथि हाम्रो त जसरी भए नि परीक्षा हुन्छ ।
So sir, प्लिज स्कुल खोल्नु न सर ।
We lost already 3 months, so in this short period, it will be difficult to complete even course too . So, I fee unlucky sir . plz ! Resume our school . I am feeling hopeless sir.)
यस्तो मनोविज्ञान भएको विद्यार्थीलाई समयमा नै ख्याल राखिएन भने डिप्रेसनमा जान्छ सर । त्यसैले सबै कुराको बिकल्प त हुन्छ नै त्यतातिर पनि ध्यान दिनुपर्ने भो सर । दिनप्रतिदिन चामल सकिंदैछ सर, होलसेल पसलेले अब एक रुपैँया पनि उधारो दिन्न भन्छ, ग्यास पनि भरे भोलि भाको छ । १० औँ वर्ष भइसक्यो शिक्षणमा लागेको पनि। पेसा चेन्ज गर्न पनि केमा जानु फेरि …उफ् ! अब के गरौँ सर । हाम्रो त जे हुनुन्छ, तपाइँ हुनुन्छ सर । तपाइँको पनि उस्तै हालत छ सर तर के गर्नु र …. । अहिलेसम्म तपाइँकै आश्रयमा बसियो । म त अब जे काम भेटे पनि गर्छु सर । खै दशैं अगाडि स्कुल खोल्ने माहोल बनेन भने त मजस्ता धेरैले ज्यान फाल्छन् होला सर । भर्ना मात्रै खोल्ने माहोल बनाउन पाए पनि हामीलाई सरले अलिअलि यसो चुलो रसाउन सम्मलाई हेरिदिनुहुन्थ्यो होला ।
अब स्कुल बचाउन सरकारले राहत त दिनुपथ्र्यो नै । १० हजार संस्था धरापमा पर्नु भनेको राज्यलाई नराम्रो नोक्सानी हो । बरु कतैबाट सस्तो ऋण दिने बल्दोबस्त सरकारले गरोस् । हामी आफ्नो तलबको पेश्की स्वरुप पनि लिनेछोँ सर साथमा स्कुलले पनि आफ्नो सञ्चालन खर्च व्यवस्थापन गर्ने आँट आउन सक्थ्यो । त्यसैले सर अब केही न केही चैँ सोचौँ, संस्था मार्नुहुँदैन सर, बरु हामी सबै मिलौँ संस्था जोगाऔँ । हवस्त सर…
आफूसँगै काम गर्ने शिक्षकको यस मेसेजले मलाई मार्मिक बनाएर एकोहोर्यायो । कोही नमरौँ कोही नमारौँ भन्ने भावनाहरु बजारका सस्ता नाराजस्ता लागे तापनि सरकारले केही त गर्ने नै छ , त्यसैले आसा गरौँ ।
वास्तविकतामा आधारित यस मेसेजको मुख्य सन्देश नै ‘संस्था जोगाऔँ अनि समाज आफैं समृद्ध बन्छ’ भएकाले सम्बद्ध पक्षलाई सोही अनुरोध छ ।
शक्तिराज नेपाल
-डायस्पोरा साहित्यमा अनुसन्धानरत