देश लकडाउनमा छ । जनता घर भित्र थुनिएका छन् । बन्द ब्यापार ठप्प छ । हुनेले किनेर खाएका छन् । नहुनेको कन्तबिजोक बन्दै छ । कछुवाको तालमा हुने परम्परागत शैलिको बिकास निर्माण ठप्प छ । मुट्ठी रोपेर मुरीे फलाउने समय (खेतिपातीको समय) किसानले मल पाएका छैनन् । उनीहरुले समयमै किटनाशक औषधि पाउँने त कल्पनै नगरौं । किसान संङ्ग बाँजो जमिन जोत्नका लागि न त आधुनिक मेसिन औजार छ न त परम्परागत हलो र गोरु । सिमित मात्रामा उत्पादन हुने खाद्ध्यान्न र तरकारीहरुको उचित मुल्य नपाउने रोग परम्परागत नै हो । कहिले तरकारी खाड्ल खनेर पुरिन्छ भने कहिले बारिमै जोतिन्छ । दुध सड्कमा घोप्ट्याउने पनि किसान नै हुनभने गोलभेडा बाटोभरि पोख्ने पनि किसान नै हुन । शहर बजारका उपभोक्ता महङ्गीले बौलाएका छन् । मुलुको बितरण प्रणाली अचम्मको छ । सिन्डिकेटको ब्यापार गर्नेहरु सिंहदरवार भन्दा बलिया छन् । सिन्डिकेट तोडेको प्रचार गर्ने सरकार स्वयं सिन्डिकेटे दादाहरुको घेरामा छ । हरेक क्षेत्रमा बिचौलियाको दादागिरी छ । प्रचण्ड बहुमतको सरकारका मन्त्रीहरु धुपौरे बनेर बालुवाटार वरिपरि धुप धुंवामा मग्न छन् । हुक्के, कोठे, बैठके, बगैंचे सबैलाई भ्याईनभ्याई छ । बालुवाटार र शितल निवासका भित्ताहरु घामपानीले धमिलो बनेका छन् । यिनीहरुको रङ्गरोगन गर्न सरकारलाई हतार छ । निरन्तर मिटिङ र बैठकहरुको चापले गर्दा ओछ्याइएका गलैचाहरु थोत्रिएका छन् । मैलिएका छन् । नयाँ बिछ्याउन टेण्डर गर्न सरकारलाई हतारो भएको छ । सरकारी निकायहरु घमिलो पानीमा माछा मार्न ब्यस्त छन् ।
कमिसन र घुस सरकारमा बस्नेहरुका लािग जन्मसिद्ध अधिकार भएको छ । अहिले त कोरोना महाब्याधि नयाँ दशै भएको छ । कहिले कोरोना दशैं, कहिले भुकम्प दशै, कहिले बाढी पैह्रो दशै, कहिले एमसिसि दशैं त कहिले देशको सिमाना दशैं ! यहाँ अचम्मको खेति भईरहेको छ । कहिले दुई तिहाईको खेति । कहिले बहुमतको खेति । यिनै खेतिको बिस्कुन सुकाउँदै, गित गाउँदै दिन बिति रहेको छ । अब त जनताको धैर्यको सिमा पनि नाघि सक्यो । दिन दिनै प्लेकार्ड बोकेर सड्कमा निस्किएका छन् युवाहरु । सड्कमा निस्किएका युवाहरुलाई मुलुकको सत्ता चाहिएको छैन । प्रधानमन्त्रीको कुर्सी पनि ताकेका छैनन् यो भिडले । मात्र चाहिएको छ हिसाब किताब । पि.सि.आर. खरिद गर्दाको । स्वास्थ्य सामाग्री खरिदको । कोरोना महाब्याधिमा गरिएको खर्चको । पीसीआर परीक्षण बढाउनु पर्ने, क्वारेन्टाइन र आइसोलेसन व्यवस्थित गर्नुपर्ने । गरिएका खर्च पारदर्शि हुनुपर्ने । अनि भोकले मर्दै गरेकाहरुका लागि पेटमा अन्नका दाना र रोपाईमा ब्यस्त किसानहरुका लागि मलको ब्यवस्था । यही नै हो अहिले सडकका युवाहरुको आवस्यकता ।
चुन र सुर्कीको लेपले ठडिएको निर्जिब सिंहदरवार भित्रका रैथाने प्राणीहरुलाई के थाहा नेपाल र नेपाली जनता सिंहदरवार भन्दा बाहिर पनि छन् । नेपाल, बालुवाटार र शितल निवास भन्दा बाहिर पनि छ । धुम्बराही र पेरिस डाँडा भन्दा धेरै टाढा सम्म पनि नेपाल छ । लिपुलेक र लिम्यिाधुरा सम्म पनि नेपाल छ । सुस्ताले बर्षौ देखि म नेपाल हुँ भनिरहेको छ । मेची बगरका हराएका जङ्गे पिरलहरुले आफ्ना मान्छेहरु आएर कहिले हाम्रो उद्धार गरिदेलान भनेर कुरिरहेका छन् । दक्षिणका दशगजाहरुमा ठडिएका ढलाने घरहरुले आफू माइति पट्टिको कि ससुरालि पट्टिको ? प्रश्न गरेको कैयौं बर्ष बितिसक्यो । कसले ठम्याई दिने ? यिनीहरु कता पट्टिका भनेर । सिमावासी सैयौं नेपालीहरु हातमा लालपूर्जा बोकेर पुस्तौ चिच्याई रहेका छन् । बिचरा सत्तासिनहरु प्रचण्ड बहुमतले बनेको हात्ती माथि सयर गरिरहेको छ । आफू सयर हात्ती सक्कली र नक्कली के हो भन्ने भेउ सम्म पाउन सकेको छैन । रातदिन उसलाई एउटै तिर्सना छ “हात्तीले फूल (अण्डा) पार्यो भने ठूलो अमलेट खान पाईन्छ” ।
देश कोरोनाको छाँयामा परेको छ । जनताहरु कोरोनासंग युद्ध गर्दैछन् । कोरोना युद्ध जितेर बलियाबाङ्गा घर फर्कदै छन् । निरन्तर युद्ध लड्ने लडिरहेका छन् । युद्धमा हार्नेको संख्याको उचाई पनि बढि रहेकै छ । औषधि उपचार त के पेटभरि खान समेत नपाएर मर्नेको कथा पनि लेखिदैछ । क्वारेन्टाईनको नाममा ब्यापार गर्नेहरुको ब्यापार दिन प्रति दिन मौलाई रहेको छ । ठूलो आशा र भरोशाका साथ स्वदेश फर्कनेहरुको ताँती दैनिक बडिरहेकै छ । रेमिटेन्स सुन्यमा झर्ने समाचार सुन्नुपर्ने दिन अब धेरै टाडा छैन । नेपाली जनताको कहर सरकारका लागि “भैसका आगे बिन” भएको छ ।
महिला हिंसा, बालबालिका हिंसा, चोरीका घटना छापाको मुखपृष्ठमा आउने क्रम बड्दो छ । सुरक्षाको अनुभूति पाउने र दिने दुबैको गहिरो खाड्ल खनिँदो छ । मक्किएको सरकार र मनोबल गिरेको जनताको हालत “बाघलाई गीता सुनाएर बाख्रा खान छाड्दैन” भन्ने नेपाली उखान संग ठ्याक्कै मिल्दो छ । पचास लाख भन्दा बढी विद्यार्थी पढाई बाट बञ्चित भएका छन् । यिनीहरुलाई कसरी स्कूल सम्म पु¥याउने । पठनपाठनको वातावरण कसरी सिर्जना गर्ने । स्वास्थ्य र सुरक्षा जस्ता अत्यावस्यकिय बस्तु कसरी सर्वसुलभ र ब्यवस्थित गर्ने । दश बर्ष भन्दा वढी पढेर मिहिनत गरेर परीक्षा दिन हिँडेका बिध्यार्थीलाई बाटोबाटै फर्काउन लाज नमान्ने सरकार यिनीहरुको मानसिक पिढाको अनुभुत गर्ने ल्याकत राख्छ भनेर कुनै अभिभावकले सोच्नु भएको होला त ! पक्कै छैन । सबैले सरकारको नाडी छामिसकेका छन् । बहुलाएको मानिस सड्कमा नाङ्गै हिड्दा बटुवाले कम्तिमा बिचरा त भन्छ नै । तर हाम्रो मुलुकको प्रचण्ड बहुमतको सरकारको दिन दिनै खुस्किएको लङ्गौटी टुलुटुल हेरेर बस्न बाध्य त्यो बिचरो निर्जिब सिंहदवारको के हालत होला ?
पारसमणि दाहाल
उप महासचिब
नेसनल प्याव्सन, केन्द्रिय समिति
Email: [email protected]