१२ जेठ, काठमाडौँ ।
नेपालमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या चार पुगेको छ।
वीरगन्जको नेशनल मेडिकल कलेजमा जेठ ४ गते मृत्यु भएका बाराको कलैयाका एक वृद्धलाई कोरोनाभाइरस पोजेटिभ देखिएको छ।
७० वर्षीय ती वृद्ध मिर्गौलामा समस्या देखिएपछि नेशनल मेडिकल कलेजमा भर्ना भएका थिए।
नारायणी अस्पतालका सुपरिटेन्डेन्ट मदनकुमार उपाध्यायले ती वृद्धको स्वाब जाँच्दा कोरोना पोजेटिभ आएको जनाए ।
शंकास्पद लक्षण देखिएका उनको स्वाब कलेक्सन गरेर परीक्षणका लागि काठमाडौं पठाएका थियौं अहिले भर्खरै पोजेटिभ नतिजा आयो भनेर मलाई इमेल आएको छ, उनले भने।
उहाँ मिर्गौलाको समस्या भएपछि नेशनल मेडिकल कलेजमा उपचारका लागि भर्ना हुनुभएको थियो। जेठ ४ गते मृत्यु भएपनि कोरोनाको रिपोर्ट भने आज पोजेटिभ आएको छ, उनले भने।
क्षयरोग, दम र निमोनियाबाट ग्रसित वृद्धलाई उनको परिवारले जेठ २ गते अस्पतालको भेन्टिलेटरमा भर्ना गराएका थिए ।
तर, कोरोना परीक्षणको रिपोर्ट नआउँदै जेठ ४ गते राति वृद्धको मृत्यु भएको थियो ।
अस्पतालले वृद्धको शव परिवारको जिम्मा लगाएपछि मृतकका आफन्तले पनि धार्मिक परम्पराअनुसार उनको अन्त्येष्टि गरिसकेका छन् ।