विश्वस्तरमा पुजिवादको उत्पत्तिको सन्दर्भमा विभिन्न धारणाहरु रहेको पाइन्छ । सामान्यत ब्यापारिक वस्तुको उत्पादन र वस्तु विनिमय प्रणालीको आधारमा हेर्ने हो भने १६ औ शताब्दी देखि पुजिवादको शुरुआत भएको मानिन्छ जस्लाइ माक्र्स स्वयमले ब्यापारिक पुजिवादको रुपमा पश्चिम युरोपदेखि शुरु भएको मान्नुहुन्छ । युरोपको औधोगिक क्रान्ति देखि पुजिवादको विकास तिब्रतम रुपमा भयो जसलाइ माक्र्सले पुजिको प्रथम भागमा विस्तृत रुपमा ब्याख्या गर्नु भएको छ । माक्र्सवादी लेखक तथा विश्व ब्यबस्थात्मक सिद्धान्तका ब्याख्याकार इमानुयल वालेस्टाइनले पुजिवादी विश्व प्रणालीको सन १४५० देखि १६४० को विचमा युरोपवाट भएको मान्दछन । त्यस्तै परनिर्भरतावादी सिद्धान्तका ब्याख्याकार तथा माक्र्सवादी विश्लेषक एजी फ्रान्कले यो अवधि सन १४९२ देखि १७८९ रहेको मान्दछन । यता पुजिवादी लेखकहरुको दृष्टिकोणवाट हेर्दा एडम स्मिथलाइ नै पुजिवादको पहिलो ब्याख्याकार मानिन्छ जस्ले सन १७७६ मा प्रकाशित राष्ट्रको धन भन्ने पुस्तकमा पजिवादका विविध पक्ष्यहरुको विश्लेषण गरेका थिए ।
यो ५०० वर्षको इतिहासमा पुजिवादले विभिन्न समयमा विभिन्न संकटहरुको सामना गर्नु परेको देखिन्छ जसमा सन १७७२ को ऋण संकट (The Credit Crisis of 1772) पुजिवादी दुनियाको पहिलो संकट थियो जस्ले युरोप हुदै अमेरिका सम्मलाइ प्रभावित पारेको थियो र अमेरिकी स्वतन्त्रता आन्दोलनको एक आधार बनेको थियो । यो संकटले तत्कालिन बृटिस साम्राज्यका सम्पुर्ण बैक र वित्तिय संस्थाहरु लगायत युरोपको आर्थिक कारोवारलाइ चुनौती दिएको थियो । दोस्रो संकट पहिलो विश्वयुद्ध (१९१४ – १८) ले सिर्जना गरेको थियो जस्ले सन १९१७ मा रुसमा समाजवादको स्थापना गरि पुजिवादी दुनियालाइ चुनौती दिएको थियो । पहिलो विश्वयुद्धको यो संकट यति गहिरो थियो कि जस्को असरले दोस्रो विश्वयुद्धको महामारी निम्त्याउनुको साथै सन १९३० को आर्थिक मन्दी समेत ल्यायो । पुजिवादको इतिहासमा सबैभन्दा बढि प्रभाव पारेको यो महामन्दीले सिगो विश्व अर्थतन्त्रलाइ धरासायी वनाउनुको साथै अमेरिकामा २५ प्रतिशतले वरोजगारीदर बढाएको थियो । अमेरिकाको आर्थिक इतिहासमा सन् १९२९ ( ३० पछि जीडीपीमा सबैभन्दा ठूलो गिरावट आएको थियो । यस्ले अमेरिकामा सन् १९३२ मा –१२.९ प्रतिशत र सन् १९४६ मा –११.६ प्रतिशतले गिरावट आएको थियोे । करिव १० वर्ष सम्म रहेको यो महामन्दीले दोस्रो विश्वयुद्धलाइ समेत निम्त्याएको थियो । यहि महामन्दीले पुजिवादलाइ टिकाइ राख्ने किन्सीयन आर्थिक सिद्धान्तको समेत निर्माण गराएको थियो जुन हालसम्म पनि पुजिवादी दुनियाको दरिलो आर्थिक हतियारको रुपमा रहेको छ । चौथो संकट दोस्रो विश्वयुद्ध थियो जस्ले अमेरिकालाइ आफनो साम्राज्यवादी शक्तिको प्रदर्शन गर्ने अवसर दिनुका साथै आणविक हातहतियारको परिक्षण गर्ने मौका पनि प्रदान गरेको थियो । यो युद्धले करिव ८५ लाख मानिसहरुको ज्यान लिएको थियो । यहि युद्धको कारणले चिनमा समाजवादी सत्ताको स्थापना हनुका साथै अमेरिका र रसियालाइ सुपरपावरको रुपमा स्थापित गराइ सिगों विश्वलाइ शित युद्धमा प्रवेश गराएको थियो । पाचौ संकट सन १९७२ को तेल निर्यातक राष्ट्रहरुले अमेरिकालाइ तेल नदिने निर्णयवाट उत्पन्न भएको थियो । अमेरिकाले अरेवियन राष्ट्रहरुमा युद्ध थोपरेको विरोधमा गरिएको यो कदमले अमेरिका र युरोपमा ठुलो आर्थिक संकट निम्त्याएको थियो । अर्को संकट सन १९९७ को एशियन संकट थियो जुन थाइल्याण्डवाट शुरु भइ पुर्वि एशियाका राष्ट्रहरु सिगापुर, मलेशिया, इन्डोनेशिया, हङकङ, साउथ कोरिया आदिमा फैलिएको थियो । थाइल्याण्डले अमेरिकी डलरलाइ विनिमय गर्न छाडेपछि यो संकटले विश्वब्यापि रुप लिएको थियो । अर्को र सबैभन्दा पछिल्लो संकट सन २००७ – ०८ को संकट थियो जुन अमेरिकाको रियल स्टेट कम्पनिको कारणले शुरु भएको थियो । यस्ले ठुलो संख्यामा रोजगार कटौती गर्नुका साथै बैक र वित्तिय सस्थाहरुलाइ अत्यधिक प्रभाव पारेको थियो । यि सबै संकटहरुलाइ पुजिवादले विभिन्न ढंगले थेग्दै आएको देखिन्छ जस्मा अमेरिकी र विश्वका अन्य पुजिवादी राष्ट्रहरुको कुशल नेतृत्व जिम्मेवार थिए तर अहिले अन्य पुजिवादी राष्ट्रहरु आफनै आन्तरिक समस्यामा छन भने अमेरिका राष्ट्रपती ट्रमको दम्भको कारण विश्वमा बढीरहेको यो संकट समाधानमा असक्षम देखिइसकेको छ ।
पुजिवादी संकटको निरन्तरताको रुपमा कोरोना र यस्को असर
सन १९१९ को अन्त र २०२० को शुरुआतमा चिनको बुहान शहरबाट शुर भै विश्वब्यापी महामारीको रुपमा फैलिरहेको कोरोनाले मानव जिवनका सम्पुर्ण पक्ष्यहरुमा प्रभाव पारिरहेको छ । यो लेख लेख्दा सम्म विश्वका २१० देशका करिव २ लाखभन्दा बढी मानिसहरुको मृत्यु भैसकेको छ । विश्वका अति सम्पन्न मुलुकहरु अमेरिका, स्पेन, इटली, फ्रान्स, जर्मनी, चीन, बेलायत, इरान, टर्की, अष्टे्रलिया, नेदरल्यान्ड, बेल्जियम लगायतका यो रोगको चपेटामा छन । त्यस्तै यो रोगको कारण सबैभन्दा बढि मृत्यु हुने राष्ट्रहरुमा अमेरिका, इटाली, स्पेन, फ्रान्स, बेलायत, इरान, बेल्जियम, चीन, जर्मनी, नेदरल्यान्ड्स आदि मुख्य हुन् ।
नेपाल लगायत विश्वका अधिकांश मुलुकहरुले यो रोगको संक्रमण फैलन नदिन लकडाउनको तरिका अबलम्वन गरिरहेका छन् । कोरोना महामारीले विश्व अर्थतन्त्रको सूक्ष्म र समष्टिगत दुवै आयाममा नकारात्नक प्रभाव पारिरहेको छ । दधि अधिकारि (२०२०) का अनुसार, कोरोना भाइरसबाट संक्रमित व्यक्तिको संख्या हेर्ने हो भने एक हजार जनाभन्दा बढी संक्रमित भएका देशहरुको संख्या २२ छ जुन विश्वका धनी राष्ट्रहरुमा पर्दछन जस्को प्रतिव्यक्ति आम्दानी ५ हजार डलरभन्दा बढी छ । यी २२ देशमध्ये १० हजार डलरभन्दा बढी प्रतिव्यक्ति आय हुने देश २० वटा र २० हजार डलर भन्दा बढी प्रतिव्यक्ति आय हुने देशको संख्या १८ छ । यी २२ देशहरुले विश्वको कूलगाह्रस्थ उत्पादनमा करिब ७३ प्रतिशत योगदान गर्दछन् । विश्व अर्थतन्त्रको प्रक्षेपण र विश्लेषण गर्ने विभिन्न संघ सस्थाहरुले कोभिड–१९ ले विश्व अर्थतन्त्रमा पार्ने प्रभावको प्रारम्भीक आकलन गरेका छन ।
विश्व बैंकले कोरोना भाइरसको प्रकोपबाट विश्व अर्थतन्त्र ३ प्रतिशतले खुम्चिने अनुमान गरेको छ । हालै अन्तर्रा्ष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले गरेको आकलन पनि यसैसग मिल्दोजुल्दो छ । अन्तर्रा्ष्ट्रिय मुद्रा कोषका अनुसार, सन् २०२० मा विश्व अर्थ व्यवस्थामा संकुचन आइ आर्थिक वृद्धिदर ३ प्रतिशतले घट्ने छ । कोरोना भाइरसको संक्रमण विस्तार रोक्न संसारका विभिन्न मुलुकहरुले अपनाएको बन्दाबन्दीका कारण विश्व अर्थतन्त्र मन्दीमा जाने कोषको विश्लेषणमा उल्लेख गरिएको छ । कोषले हालै विश्व अर्थव्यवस्थाबारे ’वल्र्ड इकोनोमिक आउटलुक रिपोर्ट’ सार्वजनिक गर्दै बन्दाबन्दीले निम्त्याउने मन्दी एक शताब्दी यताकै सबै भन्दा ठूलो हुने अनुमान गरेको छ । यो मन्दी सन् १९३० को दशकको आर्थिक महामन्दी पश्चातको गम्भीर र सन् २००८–९ को वित्तीय संकटभन्दा पनि गहिरो हुने आईएमएफले अनुमान गरेको छ । कोरोना भाइरसका कारण सन् २०२० र २०२१ मा गरी विश्व अर्थव्यवस्थाले ९ ट्रिलियन डलर नोक्सानी बेहोर्नुपर्ने कोषको अनुमान छ । कोषले कोरोना भाइरसको संक्रमण अन्त्य भएमा सन् २०२१ मा ५.८ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुने अनुमान गरेको छ । कोषकी प्रमुख अर्थशास्त्री गीता गोपीनाथले रिपोर्टमा भनेकी छन्, युद्ध र राजनीतिक संकटजस्तै संकटको अवधि र सघनताबारे अनिश्चय जारी छ । यो आर्थिक संकट सिगों पुजिवादी दुनियामा नै अत्यधिक हुने देखिन्छ ।
विश्व व्यापार संगठनको पछिल्लो प्रतिवेदनका अनुसार, विश्व बजारमा ३० देखि ३२ प्रतिशतले गिरावट आउनेछ । त्यस्तै अन्तर्रा्ष्ट्रिय मुद्राकोषका अनुसार, विश्व अर्थतन्त्रमा यो कोरोना महामारीले करीब एक शताब्दी यता नदेखिएको असर पार्नेछ । कोषका अनुसार, यो वर्ष विश्व ब्यापारमा ११ प्रतिशतले गिरावट आउनसक्ने सम्भावना रहेको छ । त्यस्तै अन्तर्रा्ष्ट्रिय श्रम संगठनको हालसालै प्रकाशित प्रतिवेदनका अनुसार, कोरोना भाइसरको कारण विश्वभर अहिले नै पूर्ण या आंशिक रुपमा करीब २ अर्ब ७० करोड कामदार प्रभावित भइसकेका छन जुन विश्वको कामगर्ने समग्र जनशक्तिको ८१ प्रतिशत हो । यस्ले वेरोजगारी बढनुका साथै गरीबीदर पनि बढ्दै जानेछ, । यो महामारीले अमेरिकी अर्थतन्त्रको आर्थिक वृद्धिदर ५.९ प्रतिशतले घटने आकलन गरिएको छ । विश्वमै सबैभन्दा बढि मानिसको मृत्यु र सक्रमण रहेको अमेरिकाका सबै उत्पादन मुलक क्षेत्र कोरोनाको कारणले बन्द छन र करिब ३ करोड मानिसले रोजगारी गुमाइ सकेका छन । न्युयोर्क स्थित बहुराष्ट्रिय लगानी बैक गोल्डम्यान स्याक्स समुहका अनुसार, कोरोना महामारीले अमेरिकाको जीडीपी आउँदो चौमासिकमा २४ प्रतिशतले घट्ने छ । यो असर बेलायत, जर्मन, फ्रान्स हुदै युरोपका अन्य राष्ट्रहरु, एशिया, ल्याटिन अमेरिका हुदै सम्पुर्ण विश्वभर फैलिएको छ जस्ले मानव जिवनका समग्र पक्ष्यमा महत्वपुर्ण प्रभाव पार्नेछ ।
कोरोनामा उदागिंएको स्वास्थ्य संकट
नाफामा मात्र केन्द्रित विश्व पुजिवादको सक्कली मुहार स्वास्थ्यजन्य संकटको बेला थप मुखरित हुने गर्दछ । अरुबेला नाफा हुने क्षेत्रमा मात्र लगानी गर्ने र स्वास्थ्यको वजेट समेत अरु क्षेत्रमा खर्च गर्ने विकसित राष्ट्रहरुले अहिले महामारीको समयमा बल्ल सार्वजनिक स्वास्थ्यमा थप लगानी आवश्यक भएको धारणा राख्दैछन । सन १९१८ को स्पेनिस फुलुको बेला देखिएको यो स्वास्थ्य संकट सन २००३ को सार्सको बेला पनि यसरि नै असरदार रहेको थियो जस्ले २६ देशलाइ प्रभावित पारेको थियो । त्यस्तै सन् २००९ मा स्वाइन फ्लु (एचवानएनवान), २०१४ मा पोलियो र २०१४ मै इबोला, २०१६ मा जिका भाइरस र २०१८ मा किभु इबोलाका कारण दुनियाको ठुलो जनसख्या प्रभावित बन्यो । अहिलेको कोभिड १९ यि महामारि भन्दा पनि अझ बढि विश्वब्यापी बन्यो र बनिरहेको छ । इतिहासका यि विभिन्न घटनाहरुले के देखाउछ भने महामारि कुनै नया घटना होइन तर यस्को नियन्त्रणमा विश्वका पुजिवादी राष्ट्रहरु किन असफल रहे ? कारोनाको यो महामारिको विश्लेषण गर्दा के देखिन्छ भने जुन देशमा राज्य नियन्त्रीत स्वास्थ्य प्रणाली छ त्यहा यस्को नियन्त्रण छिटो र प्रभावकारी छ भने निजि क्षेत्रको बोलवाला रहेका देशहरुमा यो रोगको फैलावट तिव्र रहेको छ । पुर्वि एशियाली राष्ट्रहरु सिगापुर, उत्तर कारिया, भियतनाम, लाओस, क्युवा लगायतका राष्ट्रहरुमा यो रोगको खासै असर देखिदैन भने चिनले पनि कुशलता पुर्वक यस्को नियन्त्रण गरिसकेको छ । यस्को विपरित वेलायत, अमेरिका, जर्मनी, फ्रान्स, स्पेन, इटाली लगायतका विकसित पुजिवादी राष्ट्रहरु यो रोगको नियन्त्रणमा पुरै असफल देखिएका छन । यस्को कारण खोतल्दै डब्लु एच ओ भन्छ, युरोपका विभिन्न राष्ट्रहरुले सन २००८को आर्थिक मन्दी पछि स्वास्थ्य क्षेत्रमा वजेट कटौती गर्नु र स्वास्थ्य क्षेत्र निजि क्षेत्रको जिम्मामा सुम्पीदिनु । बेलायत, फ्रान्स, स्पेन, पोर्चुगल, डेनमार्क, पुर्वि युरोपका राष्ट्रहरु हुदै अमेरिका सम्मले या अवधिमा स्वास्थ्य क्षेत्रमा बजेट कटौती गरेका थिए । यस्को रामा्रे उदाहरण इटाली रह्यो जस्ले स्वास्थ्य क्षेत्रको बजेट कटौती गर्दै आइरहेको थियो र कोभिड १९ को अवधिमा त्यहा जम्मा ७०,००० मात्र वेडहरु थिए भने जम्मा ४६,००० डक्टर र नर्सहरु थिए । यस्ले पनि के देखाउछ भने विश्वका सम्पन्न पुजिवादी राष्ट्रहरुले स्वास्थ्य भन्दा पुजिलाइ बढि जोड दिए जस्को फलस्वरुप यि देशहरुमा ठुलो जन धनको क्षती हुदैछ । जसरी ‘ब्ल्याक डेथ’ को नामले चिनिने चौधौँ शताब्दीको प्लेग महामारीले युरोपको त्यसताकाको अर्थराजनीतिमा नै परिवर्तन ल्याइदिएको थियो त्यसरी नै अहिलेको महामारीले पनि विश्वको शक्ति सन्तुलनमा महत्वपुर्ण परिवर्तन ल्याउने दखिदैछ । यस्ले अमेरिकी हेजेमोनिलाइ परास्त गर्दै चिनलाइ सुपर पावरको रुपमा स्थापित गर्ने सम्भावना देखिदैछ ।
लेखक डा. गोकर्ण ज्ञवाली त्रिभुवन विश्वविद्यालय (त्रिवि) का उप–प्राध्यापक हुन् ।