शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

पनौतीमा ‘फुड बैंक’ स्थापना


  • शनिबार, चैत्र २२ २०७६
19.2K
SHARES

कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिम बढ्दै गएपछि काभ्रेपलाञ्चोकको पनौती नगरपालिकाले ‘फुड बैंक’ स्थापना गरेको छ ।

बैंकमा जम्मा भएका खाद्यान्न आजदेखि नगरका विपन्न परिवारलाई राहतस्वरुप वितरण गर्ने नगरपालिकाले जनाएको छ ।

नगरका अतिविपन्न परिवारलाई राहत उपलब्ध गराउन फुड बैंक स्थापना गरिएको नगरप्रमुख भीम न्यौपानेले बताए ।

दोस्रो चरणमा सडक, सिँचाइ, खानेपानीजस्ता निर्माणका क्षेत्रमा खटेका मजदूरको वडागतरूपमा लिइरहेको तथ्याङ्क आज बेलुकासम्म आउने भएकाले भोलिदेखि करिब एक हजार मजदुरलाई राहत वितरण शुरु गरिने नगरप्रमुख न्यौपानले बताए ।

नगरको राहत प्याकेजअन्तर्गत ४ जनासम्मको परिवारलाई १० किलो चामल र त्योभन्दा बढी भएमा २५ किलो, दाल, आलु, गेडागुडी, नुन, तेल, बेसार, प्याज, लसुन, चाउचाउ, बिस्कुट, साबुन, चिनी, चियापत्ती, चिउरा, दालमोठलगायत १७ प्रकारका छन् ।

नगरद्वारा प्रत्येक वडामा राहत वितरण व्यवस्थापनका लागि वडाध्यक्षको संयोजकत्वमा सात सदस्यीय समिति पनि गठन गरेको छ । नपामा १२ वडा छन् । पनौतीस्थित इन्द्रेश्वर प्राथमिक विद्यालयमा फुड बैंक स्थापना गरिएको हो ।

वडास्तरमा राहत वितरणमा एक मिटरको दूरी कायम गर्ने नियम बनाइएको फुड बैंक व्यवस्थापन समितिका संयोजक रहनुभएका नगरका वरिष्ठ प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।

उनका अनुसार नगरले दैनिक उपभोग्य सामग्रीको तालिका बनाएर आफ्ना क्षेत्रमा रहेका किराना पसल, स्टोर तथा विक्रेता–आपूर्तिकर्ताको सूची तयार गर्नसमेत वडा कार्यालयलाई निर्देशन दिइएको छ ।

यसैबीच फुड बैंकमा राहत उपलब्ध हुने क्रम जारी रहेको बताइएको छ ।

शुक्रबार बागमती टिपर व्यवसायी सङ्घले फुड बैंकमा एक हजार २० किलो चामल, आत्मज्ञान प्रचारक सङ्घले नपाले तोकेको राहत सूचीअनुसार ३० परिवार र अनेरास्ववियु काभ्रेपलाञ्चोकले १० परिवारका लागि राहत उपलब्ध गराएको छ । रासस


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा