शनिबार, साउन ९ २०८३
ताजा अपडेट

सरकारले सेना गुहार्नु राम्रो संकेत होइन: साझा पार्टी


  • शुक्रबार, चैत्र २१ २०७६
10.4K
SHARES

काठमाडौं ।

साझा पार्टीले कोरोना संक्रमण विरुद्धको लडाइँमा स्वास्थ्य सामाग्री खरिदको जिम्मा नेपाली सेनालाई दिनु सरकारको विफलता भएको दाबी गरेको छ । पार्टीका संयोजक रविन्द्र मिश्रले एक विज्ञप्ति जारी गर्दै स्वास्थ्य सामाग्री खरिदको जिम्मा सेनार्ला दिनु सरकारको विफलता र लज्जाको विषय भएको बताएका हुन् । जारी विज्ञप्तिमा आफ्नो जिम्मेवारी पुरा गर्न सरकार पूर्ण रुपमा विफल भएपछि सेना गुहार्नु राम्रो संकेत नभएको जनाइएको छ ।

प्रेस विज्ञप्ती: सेना गुहार्नु सरकारको विफलता

नेपाल सरकारले कोरोना संक्रमण विरूद्धको लडाईंमा स्वास्थ्य सामाग्री खरिदको जिम्मा नेपाली सेनालाई दिनु इतिहासकै शक्तिशाली भनिएको सरकारका लागि विफलता र लज्जाको विषय हो।

राजनीतिक तहमा मौलाएको भ्रष्टाचार र अकर्मण्यताले गर्दा राज्यका धेरैजसो अङ्गले जनताको नजरमा विश्वसनीयता गुमाउँदै गएका छन्। त्यति हुँदाहुँदै आम नागरिकले शंकाको लाभ दिनुका साथै सरकारलाई यस घढीमा सहयोग गर्दै आएका थिए। तैपनि आफ्नो जिम्मेवारी पुरा गर्न सरकार पूर्णरूपमा विफल भएपछि सेना गुहार्नु राम्रो संकेत होइन।

तर दोष सेनाको होइन। संकटको घढीमा सरकारको आदेश पालना गर्नु उसको कर्तव्य हो। दोष शक्तिशाली तर अकर्मण्य सरकारकै हो। तुलनात्मक विश्वसनीयता र व्यावसायिक निष्ठा कायम राख्न सकेका राज्यका थोरै अङ्ग मध्ये नेपाली सेना पर्दछ। राज्य दोहन र भ्रष्टाचारमा लिप्त सरकारका बदनियतपूर्ण निर्णयले सृजना गरेको संकट झेल्न नेपाली सेना जस्तो संवेदनशील संस्थालाई ढाल बनाउने सरकारको कदम आपत्तिजनक छ।

२०६९ सालमा आफ्नो जिम्मेवारी पुरा गर्न नसकेपछि त्यतिबेलाको राजनीतिक नेतृत्वले सरकारको नेतृत्व नै तात्कालिन प्रधान न्यायाधीशलाई सुम्पिएको थियो। अहिले बढ्दोरूपमा राज्य असफल हुँदै गएको देखिएको छ। संकट गहिरिँदै र सरकार झन कमजोर अनि अलोकप्रिय हुँदै जाँदा फरक रूपमा इतिहासको पुनरावृत्ति नहोस्।

तसर्थ, नेपाली सेनालाई ढाल बनाउने होइन, समस्याको राजनीतिक समाधान खोज्नु पर्छ। अहिलेको यो विषम परिस्थितिबाट पार पाउन साझा पार्टीले गरेको पूर्ववत् माग, प्रमुख दलहरूको उच्चस्तरिय राजनीतिक संयन्त्र र विज्ञ समूहको निर्माणमाथि हामी पुन: जोड दिन चाहन्छौँ।

रवीन्द्र मिश्र

संयोजक, साझा पार्टी

मिति: २१ चैत २०७६


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा