
२५ माघ, काठमाडौँ ।
बूढानीलकण्ठ नगरपालिका वडा नम्वर १३ मा रहेको प्रस्तावित बूढानीलकण्ठ नेवा पुचः ले माघ २५ गते गाम्चा, चुनिखेलमा रहेको जनउद्धार माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई निःशुल्क ब्याग वितरण गरेको छ ।

शनिबार स्कूलको प्रांगण गाम्चामा एक कार्यक्रमको आयोजना गर्दै ३५० विद्यार्थीलाई निःशुल्क व्याग वितरण गरेको हो ।

काठमाडौँ क्षेत्र नम्वर ८ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्य जिवनराम श्रेष्ठको प्रमुख आतिथ्यतामा गरिएको उक्त कार्यक्रममा बूढानीलकण्ठ नगरपालिका वडा नम्वर १३ का वडाअध्यक्ष श्रीकृष्ण श्रेष्ठ, वडा नम्वर ३ का वडाअध्यक्ष बालकृष्ण श्रेष्ठ, प्याब्सकका अध्यक्ष गेन्द्र लामा, जनउद्धार मावीका प्राचार्य हरेराम खत्री, बूढानीलकण्ठ नेवा पुचः का अध्यक्ष आयन श्रेष्ठ एवं टिम, समाजसेवी टिकेश श्रेष्ठ, भाइनारायण श्रेष्ठ, मनोजकुमार श्रेष्ठ, जिवन श्रेष्ठ, विद्यार्थी, अभिभावक लगायतको उपस्थिति रहेको थियो ।

अभिभावकको उपस्थितिमा जनउद्धारका विद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथि, अतिथिहरुले व्याग वितरण गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं प्रतिनिधिसभा सदस्य श्रेष्ठले विद्यार्थीहरुको आवश्यकतालाई केन्द्रविन्दुमा राख्दै गरिएको समाजसेवाको प्रशंसा गर्दै बुढानीलकण्ठ नेवा पुचः टिमलाई धन्यवाद दिएका थिए ।

यस्तै बूढानीलकण्ठ नेवा पुचः का अध्यक्ष आयन श्रेष्ठले आर्थिक अवस्था कमजोर भएकै कारण शिक्षा लिनबाट कोही बन्चित हुनु नपरोस् भन्नका लागि बूढानीलकण्ठ नेवा पुचः ले विभिन्न स्कूलहरुमा निःशुल्क शैक्षिक सामाग्री वितरण तथा विद्यार्थीलाई छात्रबृद्धि प्रदान गर्दै आएको छ । जसको निरन्तरता स्वरुप विभिन्न निजी दातारुको सहयोगमा जनउद्धारका ३५० विद्यार्थीलाई निःशुल्क व्याग वितरण गरिएको बताए ।

उक्त कार्यक्रमलाई युवा समाजसेवी दिपु बस्नेतले सञ्चालन गरेका थिए ।























