
१८ पुस, काठमाडौँ ।
गोकर्णेश्वर नगरपालिका वडा नम्वर ४ मा सञ्चालित पासा ग्वाहाली पुचः बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।

पौष १२ गते शनिबार गोकर्णेश्वर व्याङ्क्वेटमा सम्पन्न भएको सो कार्यक्रमका प्रमुख अतिथिको रुपमा संघिय सांसद माननीय कृष्ण राइ रहेका थिए भने बिशेष अतिथिको रुपमा प्रदेशसभा सदस्य माननीय रामेश्वर फुयाँल, गोकर्णेश्वर नगरपालिका वडा नम्वर ४ का वडाअध्यक्ष श्रीकुमार श्रेष्ठ, नेफस्कुनका सञ्चालक समितिका न्हुच्छे नारायण श्रेष्ठ, प्याब्सन काठमाडौँका सल्लाहकार सुदर्शन थापा लगायत संस्थाका पदाधिकारी, शेयर सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रमको अध्यक्षता पासा ग्वाहाली पुचः बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष हरिकृष्ण श्रेष्ठले गरेका थिए ।

कार्यक्रममा साविकको गोकर्णेश्वर गाविसकै पहिलो सहकारी पासा ग्वाहाली पुचः वचत तथा ऋण सहकारीले आर्थिक वर्ष २०७५–२०७६ मा सात लाख ३३ हजार ५८ मुनाफा हासिल गरेको जानकारी गराइएको थियो । साधारणसभाका अवसरमा पेस गरिएको वार्षिक प्रतिवेदनमा एक करोड १३ लाख २५ हजार १०६ आम्दानी भएको उल्लेख गरिएको छ । यसैगरी एक करोड पाँच लाख ९२ हजार ४७ खर्च भएको छ भने सहकारीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले पेश गरेको प्रतिवेदनमा शेयर पूँजीतर्फ एक करोड ४३ लाख ४३ हजार २०० रहेको उल्लेख गरिएको थियो । सहकारीको निक्षेप बचत ५ करोड ४९ लाख ६३ हजार १५ छ । सहकारीले ५ करोड ७५ लाख ३९ हजार ८२८ कर्जा लगानी गरेको अध्यक्ष श्रेष्ठले बताए ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा शुभकामना मन्तब्य राख्दै संघिय सांसद माननीय कृष्ण राइले सरकारको तीनखम्बे अर्थनीति अनुसार सहकारी अपरिहार्य अङ्ग भएको बताए । देशभर छरिएका ३४ हजार ५०० सहकारीकै कारण आर्थिक रूपान्तरणका साथै स्वरोजगार सम्भव भएको उनको भनाइ थियो ।

प्रदेश नम्वर ३ का प्रदेशसभा सदस्य रामेश्वर फुयाँलले संस्थालाई शुभकामना ब्यक्त गर्दै गाउँ गाउँमा फैलिएका सहकारीले निम्न आय भएका जनताको आय आर्जनमा सहयोग गरेको बताए । उनले नले सहकारीको विकासले साझेदारी र सामुहिक काममा सकारात्मक भुमिका निभाएको बताउदै समाज रुपान्तरणमा थप टेवा पुगेको बताए ।













