काठमाडौं, श्रावण २७ । नेपाल कानुन व्यवसायी परिषद्को ३४औँ स्थापना दिवसका अवसरमा आर्थिक वर्ष २०८२/०८३ मा कानुन तथा न्यायको क्षेत्रमा प्रकाशित पुस्तकहरू मध्येबाट उत्कृष्ट पुस्तकलाई पुरस्कृत गरिएको छ । रिनोवेसन नेपालले प्रकाशन गरेको अधिवक्ताद्वय उद्धव प्रसाद अधिकारी र रामबाबु नेपालद्धारा लिखित न्यायिक समितिको सारथी लाई उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत गरिएको हो ।
नेपाल कानुन व्यवसायी परिषद्ले आयोजना गरेको स्थापना तथा आत्ममूल्याङ्कन दिवस समारोहमा सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले पुस्तकका लेखकहरूलाई सम्मानपत्र तथा नगद पुरस्कार प्रदान गर्नुभयो ।

न्यायिक समितिको सारथी स्थानीय तहमा न्यायिक समितिको कार्यसम्पादन, विवाद समाधान तथा मेलमिलाप प्रक्रियालाई प्रभावकारी बनाउन तयार गरिएको व्यवहारिक कानुनी सन्दर्भग्रन्थ हो। पुस्तकमा नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन तथा प्रचलित कानुनी व्यवस्थाका आधारमा न्यायिक समितिको अधिकारक्षेत्र, उजुरी व्यवस्थापन, मेलमिलाप, निर्णय प्रक्रिया, निर्णय लेखन, अभिलेख व्यवस्थापनलगायतका विषयलाई सरल र व्यवहारिक रूपमा प्रस्तुत गरिएको छ।
संघीयता कार्यान्वयनसँगै स्थानीय तहलाई प्राप्त न्यायिक अधिकारको प्रभावकारी प्रयोग, न्यायिक समितिको संस्थागत क्षमता अभिवृद्धि तथा नागरिकलाई स्थानीय स्तरमै न्यायमा सहज पहुँच पुर्याउने उद्देश्यले पुस्तक तयार गरिएको हो।
स्थानीय तहका न्यायिक समितिका संयोजक तथा सदस्य, कानुन अधिकृत, कर्मचारी, मेलमिलापकर्ता, कानुन व्यवसायी, जनप्रतिनिधि, विद्यार्थी तथा न्यायका क्षेत्रमा कार्यरत व्यक्तिका लागि पुस्तक उपयोगी सन्दर्भ सामग्रीका रूपमा रहेको छ। पुस्तकमा न्यायिक समितिको संवैधानिक तथा कानुनी आधारसँगै कुन विवाद न्यायिक समितिले हेर्न मिल्छ, उजुरी कसरी ग्रहण गर्ने, पक्षहरूबीच मेलमिलाप कसरी गराउने, निर्णय कसरी लेख्ने र त्यसको कार्यान्वयन तथा अभिलेख कसरी व्यवस्थित गर्ने जस्ता व्यवहारमा आइपर्ने विषयलाई समेत समेटिएको छ। यही कारण पुस्तकलाई स्थानीय न्यायिक अभ्यास र मेलमिलाप प्रणालीका लागि व्यवहारिक मार्गदर्शकका रूपमा समेत लिइएको छ।
नेपाल कानुन व्यवसायी परिषद्ले कानुन व्यवसायको विकाससँगै कानुनी अध्ययन, अनुसन्धान र प्रकाशनका क्षेत्रमा योगदान पुर्याउने कृतिहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले उत्कृष्ट पुस्तकलाई सम्मान गर्दै आएको छ। यस वर्ष न्यायिक समितिको सारथीलाई कानुन तथा न्यायको क्षेत्रमा प्रकाशित उत्कृष्ट पुस्तकका रूपमा छनोट गरी लेखकद्वयलाई सम्मान गरिएको हो।
सम्मान ग्रहण गर्दै अधिवक्ता उद्धब प्रसाद अधिकारी र अधिवक्ता रामबाबु नेपालले प्राप्त सम्मानलाई आफूहरूको व्यक्तिगत उपलब्धिभन्दा पनि स्थानीय न्याय प्रणाली, न्यायिक समिति र मेलमिलापको संस्थागत विकासका लागि गरिएको प्रयासको सम्मानका रूपमा लिएको बताए। उनीहरूले संघीय शासन प्रणालीअन्तर्गत स्थानीय तहमा स्थापित न्यायिक समितिको भूमिका अझ प्रभावकारी बनाउन आवश्यक कानुनी ज्ञान, प्रक्रिया र अभ्यासलाई एउटै सन्दर्भ सामग्रीमा समेट्ने प्रयासस्वरूप पुस्तक तयार गरिएको उल्लेख गरे। स्थानीय तहमा न्याय सम्पादनका क्रममा जनप्रतिनिधि तथा सरोकारवालाले व्यहोर्नुपर्ने व्यवहारिक कठिनाइलाई समेत पुस्तकले सम्बोधन गर्ने उनीहरूको भनाइ छ। नेपाल कानुन व्यवसायी परिषद्को स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा कानुन तथा न्याय क्षेत्रका विशिष्ट व्यक्तित्व, न्यायाधीश, वरिष्ठ अधिवक्ता तथा कानुन व्यवसायी, परिषद्का पदाधिकारी, कानुनी क्षेत्रका विज्ञ तथा विभिन्न सरोकारवालाको सहभागिता रहेको थियो। स्थानीय तहमा न्यायिक समितिको अभ्यास सुरु भएको करिब एक दशकको अवधिमा यसको कार्यसम्पादन, अधिकारक्षेत्र र प्रक्रियागत पक्षमा देखिएका जटिलतालाई सम्बोधन गर्न व्यवहारिक अध्ययन तथा सन्दर्भ सामग्रीको आवश्यकता बढिरहेको अवस्थामा न्यायिक समितिको सारथीले प्राप्त गरेको यो सम्मानलाई स्थानीय न्याय र मेलमिलापको क्षेत्रमा गरिएको अध्ययन तथा लेखनको महत्वपूर्ण मान्यताका रूपमा हेरिएको छ।