२१३औ भानुजयन्तीका अवसरमा भानु प्रतिष्ठान, काठमाडौँ तथा रिभेरा इन्टरनेसनल एकेडेमी, चाबहिलको संयुक्त आयोजनामा रिभेराको सभाहलमा अन्तर-विद्यालय आदिकवि भानुभक्त आचार्यका कविता कृति वाचन प्रतियोगिता सम्पन्न भयो।
काठमाडौँ जिल्लाका २७ विद्यालयले सहभागिता जनाएको उक्त प्रतियोगिताको अध्यक्षता भानु प्रतिष्ठानका अध्यक्ष डी. पी. अर्यालले गर्नुभएको थियो। भानु प्रतिष्ठानका संरक्षक तथा पूर्व अध्यक्ष प्रा. डा. व्रतराज आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त प्रतियोगिताको निर्णायक भूमिकामा लेखक तथा साहित्यकारद्वय प्रा. डा. देवी नेपाल र डा. मधुसुदन लामिछाने हुनुहुन्थ्यो । उक्त प्रतियोगितामा आयोजक विद्यालयका प्रिन्सिपल प्रज्वल कोइरालाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।
उक्त प्रतियोगितामा पिस पोइन्ट सेकेन्डरी स्कुलकी छात्रा दीपिका राईले प्रथम स्थान हासिल गरेकी थिइन् भने विश्वज्ञान पाठशालाकी छात्रा सिम्रिका खड्का द्वितीय, कान्तिभैरव गुरुकुल विद्यालयका छात्र अभिनव आचार्यले तृतीय स्थान हासिल गर्न सफल भएका थिए। त्यसैगरी, बेबिलोन नेशनल स्कुलकी छात्रा आशिका रावलले चौथो तथा जगतमन्दिर स्कुलकी छात्रा विद्या कोइरालाले पाँचौँ पुरस्कार प्राप्त गरेका थिए। कार्यक्रमका अध्यक्ष, प्रमुख अतिथि, आयोजक विद्यालयका अध्यक्ष तथा प्रिन्सिपललगायतबाट संयुक्त रुपमा विजयी विद्यार्थी र विद्यालयलाई ट्रफी तथा प्रमाणपत्र वितरण गरिएको थियो। साथै भानु प्रतिष्ठानका उपाध्यक्ष रमेश सुभेच्छु एवम महासचिव पुरु लम्सालद्वारा लिखित पुस्तकहरू पुरष्कारको रुपमा प्रदान गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रा. डा. व्रतराज आचार्यले भानुभक्त कवि मात्र नभई नेपाली जातिका एकताका प्रतीक भएको बताउनुभएको थियो । कार्यक्रमका अध्यक्ष तथा भानु प्रतिष्ठानका अध्यक्ष डि. पी. अर्यालबाट भानुभक्त आचार्य र उनको भाषिक योगदानको चर्चा गर्दै कार्यक्रम समापन गरिएको थियो। उक्त कार्यक्रममा कविहरू प्रा. डा. देवी नेपाल, डा. मधुसुदन लामिछाने, मणिपुर, भारतका कवि दीपक पन्थ तथा युवा कवि सदाशय गौतम लगायतले कविता वाचन गर्नुभएको थियो। उक्त कार्यक्रममा भानु प्रतिष्ठानका उपाध्यक्ष डा. रमेश सुभेच्छु, महासचिव पुरु लम्साल, आयोजक विद्यालयका सञ्चालक समिति अध्यक्ष श्री नरेन्द्र भट्टराई, जगत मन्दिर सेकेन्डरी स्कुलका प्रिन्सिपल राजन आचार्य एवम् लाइसियम मोडेल स्कुलका प्रिन्सिपल राजेन्द्र थपलियालगायतको उपस्थिति रहेको थियो।