काठमाडौं । नेपाली कांग्रेसका नेता डा. सुनील शर्माले पार्टीभित्रका सबै मतभेद संवादबाटै टुंग्याउनुपर्ने बताएका छन् ।
विशेष महाधिवेशनस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले पार्टीका समस्या संवादमार्फत टुंग्याइनुपर्ने बताए ।
कांग्रेस अहिले गम्भीर संकटको मोडमा रहेको उल्लेख गर्दै ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेर विधानसम्मत ढंगले विशेष महाधिवेशन बोलाइदिन आग्रह गर्दागर्दै केन्द्रीय समितिमा आफ्नो बहुमत छ भनेर कार्यकर्ताको मनोभाव अस्वीकार गर्नेका कारण आजको परिस्थिति सिर्जना भएको उनको भनाइ थियो ।
शर्माले वर्तमान विषम परिस्थितिमा कांग्रेस र भावी पुस्ताको भविष्य सोचेर पार्टीलाई एकताबद्ध राख्न संस्थापन पक्षले त्याग, समर्पण र अग्रगामी निर्णयको नेतृत्व गर्नुपर्ने बताए ।
नेतृत्व हस्तान्तरणका लागि तयार रहन सभापति शेरबहादुर देउवालाई उनले आग्रहसमेत गरे ।
उनले भने, “५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेर विधानसम्मत विशेष महाधिवेशन बोलाइदिन आग्रह गर्दा पनि महाधिवेशन नबोलाएपछि यो अवस्था सिर्जना भयो । अब कांग्रेस र भावी पुस्ताको भविष्य सोचेर पार्टीलाई एकताबद्ध राख्न संस्थापन पक्षले त्याग, समर्पण र अग्रगामी निर्णयको नेतृत्व गर्नुपर्छ । नेतृत्व हस्तान्तरणका लागि तयार हुनुपर्छ ।”
विशेष महाधिवेशन पक्षधरले पनि पार्टी एकताका लागि आम कार्यकर्ता र पार्टी हितलाई प्राथमिकतामा राख्नुपर्ने बताए ।
एकताका नाममा पेल्ने, हेप्ने, कारबाही गर्ने वा पार्टीलाई विभाजनतर्फ धकेल्ने कुरा अस्वीकार्य रहेको पनि बताए ।
कांग्रेस संकटमा परे देश संकटमा पर्ने भएकाले उच्च जिम्मेवारीका साथ अघि बढ्न सबै नेतालाई आग्रह गरे । विवाद समाधानका लागि वार्ता समिति बनेकाले मंगलबार बेलुकासम्म वार्ता निष्कर्षमा पुर्याउन आग्रह गरे । —न्युज एजेन्सी नेपाल