काठमाडौँ । काठमाडौँको बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १३ स्थित चुनिखेल गाइज युवा क्लबले भव्य सांस्कृतिक कार्यक्रम गर्ने भएको छ । नौलिन भद्रकाली जात्रा एवं बुद्ध जयन्तीको अवसरमा उक्त कार्यक्रमको आयोजना गर्न लागिएको जनाइएको छ ।
स्थानीय युवाहरूको अगुवाइमा बनेको चुनिखेल गाइज युवा क्लबले हरेक वर्ष यस्तै कार्यक्रमको आयोजना गर्दै आएको छ । आयोजक संस्थाका अध्यक्ष अशोक श्रेष्ठले भने, ‘बिहीबार हुने उक्त कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको छ । बिहान ११ बजेदेखि कार्यक्रम सुरु गर्छौ । बूढानीलकण्ठबासीदेखि अन्य व्यक्तिहरू पनि सहभागी हुन सक्नु हुनेछ । विभिन्न सांस्कृतिक एवं सांगितिक प्रस्तुति हुने छ । स्थानीय कलाकारदेखि चर्चित कलाकारहरूलाई समावेश गरेका छौँ ।’
कार्यक्रमको मुख्य आकर्षक रूपमा चर्चित गायक दीपक बज्राचार्य रहेका छन्। उनले दिनैभर आफ्ना चर्चित गीतहरूको प्रस्तुति दिनेछन् । यस्तै, वान लेग डान्सर गोमा न्यौपानेको नृत्य प्रस्तुती रहनेछ ।
पूर्व मिस नेपाल नम्रता श्रेष्ठले कार्यक्रमको होस्ट गर्ने जनाइएको छ ।
क्लबका अध्यक्ष श्रेष्ठ भन्छन्, ‘स्थानीय तथा नेपाली कला, संस्कृति, साहित्य, स्वास्थ्य, शिक्षा र खेलकुदको प्रोत्साहन तथा प्रवर्द्धनमा हामी सदैव हामी प्रतिबद्ध छौँ । अहिले आयोजना गर्न लागेको उक्त सांस्कृतिक तथा साङ्गीतिक कार्यक्रम मात्र मनोरञ्जनका लागि नभई स्थानीय जात्राको प्रचार, यहाँका स्थानीय कलाकारहरूको प्रोत्साहन, स्थानीय कला र संस्कृतिको प्रवर्द्धन र सिङ्गो समाजमा एकता र सद्भाव कायम गर्ने सन्देश पनि हो । आशा छ यसमा सबैको साथ रहनेछ ।’