एजेन्सी । विश्व चर्चित इंग्लिस प्रिमियर लिग (ईपिएल) को शिर्ष स्थानमा रहेको आर्सनलले कमालको जित निकालेको छ । जितसंगै थप ३ अंक पाएको आर्सनलले दोश्रो स्थानमा रहेको न्यूक्यासल युनाइटेडसंगको अंक दुरीलाई बढाएको छ ।
घरेलु मैदानमा १–० ले पछि परेको स्थिति उल्ट्याएर आर्सनलले वेस्ट ह्याम युनाइटेडमाथि ३–१ को सानदार पूनरागमन जित निकालेको हो ।
आर्सनलको जितका लागि बुकायो साका, गाब्रिएल मार्टिनेली र इडवार्ड एनकेइटाले गोल गर्न सफल भए । भने वेस्ट ह्यामका सेड बेनरहमाको गोल सान्त्वना बन्यो ।
इमिरेट्स स्टेडियमा लन्डनमा सोमबार राति भएको खेलको २७औं मिनेटमा सेड बेनरहमाको गोलबाट आर्सनल पहिलो हाफमा १–० गोलले पछि परेको थियो ।
दोस्रो हाफमा सानदार प्रदर्शन गर्दै पूनरागमन गर्दै जित निकाल्न सफल भयो । ५३औं मिनेटमा बुकायो साकाले मार्टिन ओडेगार्डको पासमा गोल गर्दै खेललाई बराबरी गोलको ल्याए ।
५८औं मिनेटमा गाब्रिएल मार्टिनेलीले गोल गर्दै आर्सनललाई अग्रता दिलाए ।
यस्तै, खेलको ६९औं मिनेटमा इडवार्ड एनकेइटाले गोल गर्दै आर्सनललाई सहज जिततर्फ अघि बढाए । उनले कप्तान मार्टिन ओडेगार्डकै पासमा गोल गर्न सफल भएका थिए ।
यो जितसँगै शीर्षस्थानमा आर्सनलले ७ अंकको अग्रता बढाएको छ । आर्सनल एक खेल बढी खेलेको न्यूक्यासल युनाइटेडलाई ७ अंकले अघि रहेको छ । यस्तै, एक खेल कम खेलेको म्यानचेस्टर सिटीलाई ८ अंकले पछि पारेको छ ।
आर्सनलको १५ खेलबाट ४० अंक पुगेको छ । १६ खेल खेलेको न्यूक्यासलको ३३ तथा १४ खेल खेलेको सिटीको ३२ अंक छ ।