काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको ४४ औं प्रधानमन्त्रीको सपथ ग्रहण गरेका छन् । तेस्रो कार्याकालका लागि प्रधानमन्त्री बनेका प्रचण्डले यसपटक नेपाली पोशाक दौरा सुरुवाल सजिएर सपथ लिएका छन् ।
राष्ट्रपति कार्यालय शीतल निवासमा एक विशेष समारोहमा उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनियताको सपथ ग्रहण गराएकी हुन् ।
यसअघि २०६५ तथा २०७३ मा दुईपटक प्रधानमन्त्रीको सपथ लिँदा प्रचण्डले कोट पाइन्ट लगाएका थिए । यसपटक भने नेपाली पोशाक सजिएका हुन् ।
आइतबार राजनीतिमा नयाँ समीकरण बनेसँगै नेकपा एमालेलगायत सात दलका १७० जना सांसदहरुको समर्थनमा प्रचण्ड तेस्रो कार्याकालका लागि प्रधानमन्त्री बनेका हुन् ।
यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहालले ८ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् । प्रधानमन्त्री प्रचण्डले ३ उपप्रधानमन्त्री र ४ मन्त्रीसहित ८ सदस्यीय मन्त्रिपरिषद गठन गरेका हुन् ।
उपप्रधानमन्त्रीमा नेकपा एमालेका विष्णु पौडेल, माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीक रवि लामिछाने रहेका छन् । पौडेलले अर्थ, श्रेष्ठले भौतिक पूर्वाधार र लामिछानेले गृह मन्त्रालय सम्हाल्नेछन् ।
मन्त्रीहरुमा ज्वालाकुमारी साह, दामोदर भण्डारी, राजेन्द्र राई र अब्दुल खान रहेका छन् । उनीहरुको कार्यभार पछि तोकिनेछ । ३ जना उपप्रधानमन्त्री र चारै जना मन्त्रीले सोमबार नै शपथ लिएका छन् ।