एजेन्सी । २२औँ संस्करणको फिफा विश्वकप फुटबलको फाइलन खेल आइतबार बेलुका हुँदैछ । उपाधि भिडन्तका लागि साविक विजेता फ्रान्स र अर्जेन्टिना भिड्दै छन् । खेल नेपाली समय अनुसार ८ः४५ बजेबाट सुरु हुनेछ ।
यी दुवै टिमले २/२ पटक विश्वकपको उपाधि जित्न सफल भएका छन् । आज हुने फाइनल खेलमा दुवै राष्ट्र एक अर्कालाई हराएर तेस्रोपटक विश्वक च्याम्पियन बन्ने होडमा छन् ।
सन् १९९८ मा फ्रान्सले उपाधि जित्दा कप्तानी गरेका डीडीएर डेस्च्याम्प्सले सन् २०१८ मा प्रशिक्षकको भूमिकामा टोलीलाई उपाधि दिलाउन सफल भए । उनी अब लगातार दुई पटक उपाधि जिताउने दोस्रो प्रशिक्षक बन्ने दाउमा छन् ।
प्रशिक्षक डेस्च्याम्प्सले फाइनलअघि धेरैको चाहना अर्जेन्टिनी कप्तान लिओनेल मेस्सीले विश्वकप जितोस् भन्ने चाहने धेरै रहेको पनि बुझेका छन् ।
उनले भने, ‘मलाई थाहा छ अर्जेन्टिना मात्र होइन विश्वभर नै धेरैको चाहना मेस्सीले विश्वकप जितुन् भन्ने छ । हुनसक्छ यसमा फ्रान्सकै केही पनि छन् । तर हामी आफ्नो लक्ष्य पूरा गर्न आएका हौं र त्यसमा ध्यान दिइरहेका छौं ।’
उनले अगाडी भने, ‘म आफू एक्लो महसुस पनि गरिरहेको छु । तर त्यसले केहि फरक पर्दैन । मलाई खेलबारे कुनै चिन्ता छैन । महत्त्वपूर्ण खेलको तयारी गर्दा ध्यान केन्द्रित गर्न जरुरि छ । म त्यसमा ध्यान दिइरहेको छु ।’
फ्रान्समा केहि खेलाडी बिरामी परेपछि टोली समस्यामा थियो । सेमिफाइनलमा दुई खेलाडी गुमाएको फ्रान्सका लागि त्यसयता ५ खेलाडीले प्रशिक्षण गुमाएका थिए । तर शनिबार सबै प्रशिक्षणमा सहभागी भएको डेस्च्याम्प्सले जनाए ।
फाइनलअघि फ्रान्सका फरवार्ड करीम बेन्जेमा टोलीमा फर्कने चर्चा चलेको थियो । टोली कतार आएपछि चोट बोकेर फर्केका उनको नाम भने अझैपनि टोलीमा छ । तर प्रशिक्षक डेस्च्याम्प्सले उनी फर्कने कुनै सम्भावना नरहेको बताए ।
डेस्च्याम्प्सले भने, ‘मलाई यस्तो कुरा मन पर्दैन । पहिलो खेलमा लुकास घाइते भएपछि नै मैले टोलीमा २४ खेलाडी छन् भनेर बुझेको छु । घाइते खेलाडीबारे बारम्बार कुरा गर्नु राम्रो होइन । अब खेल हेर्न को आउँछ भन्ने मेरो नियन्त्रणमा रहेन । मेरो लागि फाइनल खेल्न २४ खेलाडी उपलब्ध छन् भन्नेमा प्रष्ट छु ।’