एजेन्सी । सिंगो फुटबल फ्यानको ध्यान खिच्ने गरि विश्व चर्चित प्रशिक्षक पेप ग्वार्डिओलाले यस पटको विश्वकप जित्ने टिम बारे खुलासा गरेका छन् । स्पेनिस पत्रिका ‘मार्का’ संगको कुराकानीमा उनले विश्वकप जित्ने टिमको खुलासा गरेका हुन् ।
कतारमा जारी फिफा विश्वकपको उपाधि भिडन्तमा साविक विजेता फ्रान्स र अर्जेन्टिना मेदान उत्रदै छन् । चर्चित प्रशिक्षक पेप ग्वार्डिओलाले गरेको यो खुलासाले कत्तिको पुर्णता पाउने हो त्यो भने भोलीको खेल कुर्नु पर्नेछ ।
इंग्लिस क्लब म्यानचेस्टर सिटीका प्रमुख प्रशिक्षक पेप ग्वार्डिओलाले स्पेनिस पत्रिका ‘मार्का’ संगको कुराकानीमा फाइनल खेलको सम्भावित विजेताबारे आफ्नो अनुमान व्यक्त गरेका हुन् । बार्सिलोनाका पूर्व प्रशिक्षक समेत रहेका पेप स्पेनिस नागरिक हुन् । स्पेन विश्वकपको अन्तिम १६ बटै आउट भइसकेको अवस्थामा उनले आफू ठूलो फ्यान समेत रहेका लियोनल मेस्सीको अर्जेन्टिनाले विश्वकप जित्ने दाबी गरेका छन् ।
अर्जेन्टिनाका लियोनल मेस्सीका खास फ्यान रहेका उनले यो समय मेस्सीको रहेको दावी गरेका छन् । मेस्सी र पेप बीच निकै राम्रो सम्बन्ध छ । मेस्सीलाई फुटबल इतिहासकै सर्वकालिन महान खेलाडी मान्दछन् । उनले फुटबलको न्यायका लागि भए पनि विश्वकप अर्जेन्टिनाका साथमा मेस्सीले जित्नुपर्ने बताएका छन् ।
साविक विजेता फ्रान्ससँग बलियो टिम भए पनि अर्जेन्टिनाले उपाधि जित्ने र आफूले त्यस्तै चाहेको पेपले बताएका छन् । पेपले भने, ‘फ्रान्स साबिक विजेता राष्ट्र हो । उनीहरूसँग केही मुख्य खेलाडी नहुँदा पनि फाइनल पुगेका छन् भने उनीहरू यसपटक पनि उपाधि जित्न सक्षम छन् । तर, फाइनल अर्जेन्टिनाले जित्ने मेरो अनुमान छ । विपक्षमा जो भए पनि मेस्सीको टिम फाइनल खेल्दैछ भने अर्जेन्टिना जितको पहिलो दाबेदार हुन्छ।’
पेपले अगाडी भने, ‘२०१८ मा अर्जेन्टिनालाई फ्रान्सले ४–३ ले हरायो । म के कुरामा विश्वास गर्छु भने, त्यो बेलाको भन्दा अर्जेन्टिनाको अलिहेको टिम धेरै मजबुत छ । यो टिममा जितको ठूलो भोक छ । यही कुराले अर्जेन्टिनालाई विश्वकप जिताउनेछ । अर्जेन्टिनाका खेलाडी मेस्सीलाई विश्वकप जिताउन ज्यान दिन तयार छन् । फ्रान्सका लागि यो कुरा धेरै खतरनाक हुनेछ,’ पेपले थपे, ‘तर, फ्रान्सले अर्जेन्टिनालाई सजिलो गरी जित्न दिनेछैन । दुवै टिम जित्का लागि योग्य छन् । मेरो विश्वास मेस्सीमाथि छ ।’
खेलको स्कोर अनुमान गर्न भनिएकोमा पेपले त्यो भने गर्न मानेनन् । तर, अर्जेन्टिनाको सम्भावना धेरै रहेको उनले बताए । ‘म प्रशिक्षक हुँ । तसर्थ, यसरी खेलको नतिजा अनुमान गर्न मलाई डर लाग्छ । यो मेरा लागि कठिन कुरा हो,’ उनले भने, ‘तर म यति भन्न सक्छु, फ्रान्सभन्दा अर्जेन्टिनाको जित्ने सम्भावना धेरै छ । मेरो विचारमा अर्जेन्टिनासँग ६० प्रतिशत सम्भावना छ । मलाई के थाहा छ भने, यो एक रोमाञ्चक र हेर्नका लागि उत्कृष्ट खेल हुनेछ ।’
फाइनल खेलमा फ्रान्सको रक्षापंक्तिले मेस्सीलाई रोक्न नसक्ने पनि पेपले दाबी गरेका छन् ।
फ्रान्स र अर्जेन्टिनाविचको फाइनल खेल नेपाली समय अनुसार आइतबार राति ८ः४५ बजेबाट सुरु हुनेछ ।