एजेन्सी । फिफा विश्वकप कतार २०२२ अन्तर्गत अहिल तेश्रो स्थानको खेल भइरहेको छ । क्रोएसिया र मोरक्को आफ्नो तेश्रो स्थानका लागि मैदानमा छन् । नेपाली समय अनुसार ८ः४५ बजेबाट खेल सुरु भएको हो ।
अहिले खेलको पहिलो हाफको खेल भइरहेको छ । हालसम्मको खेलमा दुवै टिमले १÷१ गोल गर्न सफल भएका छन् ।
क्रोएसियाका लागि जिभार्डिउलले खेलको ७औँ मिनेटमा गोल गरे । यस्तै, मोरक्कोका लागि दारीले ९औँ मिनेटमा गोल गर्दै बराबरी बनाएका छन् ।
खेल निकै नै रोचक बनिरहेको छ । दुवै टिम आक्रमक रुपमा खेल खेलिरहेका छन् । आफ्नो तेश्रो स्थान कसले पक्का गर्छ त्यो भने खेलको अन्तिमसम्म कुर्नु पर्ने हुन्छ ।
साबिकको उपविजेता क्रोएसिया सेमिफाइनलमा अर्जेन्टिनासँग ३–० ले तथा मोरक्को साबिक विजेता फ्रान्ससँग २–० ले पराजित हुँदै फाइनल पुग्नबाट चुकेको थियो ।
कतारको खलिफा अन्तर्राष्ट्रिय रङ्गशालामा खेल भइरहेको छ । यस्तै, क्रोएसिया सन् १९९८ को विश्वकपमा पनि तेस्रो भएको थियो । सो बेला क्रोएसियाले नेदरल्यान्ड्सलाई २–१ ले हराएको थियो ।
क्रोएसिया र मोरक्को हालसम्म दुई पटक भिडेका छन् । दुवै खेल बराबरीमा सकिएको छ । सन् १९९६ मा भएको हसन दोस्रो ट्रफी सेमिफाइनलमा क्रोएसियाले टाइब्रेकरमा जित निकालेको थियो ।
पछिल्लो भेट यसै विश्वकपको समूह चरणमा थियो । जुन खेल गोलरहित बराबरीमा सकिएको थियो ।