एजेन्सी । फिफा विश्वकप कतार २०२२ मा आज सेमिफाइनलको खेल हुँदै छ । नेपाली समय अनुसार खेल १२ः४५ बजेबाट सुरु हुनेछ । साबिक विजेता फ्रान्स र इतिहास रच्दै सेमिफाइनल पुगेको मोरक्कोबिच आज कडा प्रतिस्पर्धा हुँदै छ ।
सेमिफाइनल भिडन्तबारे बोल्दै मोरक्कोका प्रशिक्षकले फ्रान्सलाई रोक्ने रणनीति बारे खुलाएका छन् । प्रशिक्षक वालिद रेग्रागुईले फिफा विश्वकपको सेमिफाइनलमा पुग्नु मात्र आफ्नो सफलता नरहेको जनाएका छन् ।
उनले विश्वकपको ट्रफी उचाल्ने आफूहरूले लक्ष्य रहेको बताएका छन् । कुनै पनि मूल्यमा फ्रान्सलाई सेमिफाइनलमा रोक्दै फाइनल पुग्ने र उपाधि जित्ने दाबी गरेका छन् ।
मोरक्कोका प्रशिक्षक रेग्रागुईले भने, ‘हामी फाइनल पुगेर विश्वकपको उपाधि जित्न चाहन्छौँ । यो लक्ष्य हासिल गर्न हामी जे पनि गर्न तयार छौँ । फ्रान्ससंग भिड्नका लागि हामीसँग असाधारण ऊर्जा हुनेछ । हामी सेमिफाइनलमा पुगेर सन्तुष्ट छौँ भन्ने कुरा हामीलाई सुहाउँदैन । हामी थाकेका छैनौँ ।’
मोरक्को त्यही टोली हो, जसलाई यस विश्वकपमा कुनै पनि टोलीले गोल गर्न सकेको छैन । मोरक्कोले यस विश्वकपमा ५ गोल गर्दा एक गोल खाएको छ । त्यो एक गोल पनि क्यानडासँग आत्मघाती गोल हो । तर, त्यही सनसनी मोरक्कोलाई चोट र प्रतिबन्धले पिरोल्न सक्नेछ ।
सेन्टर फरवार्ड वालिद चेडिरा प्रतिबन्धका कारण फ्रान्सविरुद्धको महत्वपूर्ण सेमिफाइनलमा आज हुने छैनन् । चोटका कारण डिफेन्डर नाएफ अगुएर्ड र रोमन सेइसले खेल्ने सम्भावना निकै नै न्युन बनेको छ ।
फ्रान्स र मोरक्को यि दुई टोली हालसम्म ११ पटक भिडेका छन् । ठुलो प्रतियोगितामा भने यो पहिलो भेट हो । ११ भेटमा फ्रान्सले ७ खेल जितेको छ । एक खेल मोरक्कोले जित्दा तीन खेल बराबरीमा सकिएको छ ।