शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

सार्वजनिक भयो यस वर्षको भाइटिकाको शुभ साइत


  • बुधबार, कार्तिक २ २०७९
12.7K
SHARES

फाइल तस्विर

काठमाडाैँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको यमपञ्चक अर्थात् तिहार पर्वको साइत सार्वजनिक गरेको छ। जसअनुसार कात्तिक १० गते बिहीबार बिहान ११:३७ बजे भाइटीकाको साइत उत्तम छ।

यमपञ्चक कात्तिक ५ गते शनिबार सुरु हुनेछ। कात्तिक ५ गते शनिबार यमदीपदान सुरु गरिन्छ। यमपञ्चकका अवसरमा दीपदान गर्नाले यम यातना नपाइने धार्मिक विश्वास छ। धनत्रयोदशी (धनतेरस) पर्व पनि त्यसै दिन मनाउनुपर्ने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले आज जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

कात्तिक ६ गते आइतबार कागतिहार (काकबली) पर्व परेको छ । धनवन्तरी जयन्ती पनि त्यसै दिन मनाइन्छ । कात्तिक ७ गते सोमबार कुकुर तिहार पर्व मनाइन्छ। त्यसै दिन नरकचतुर्दशी अर्थात् बिहान झिसमिसेमै तेल लगाएर स्नान गरी नरक बालेर बगाइन्छ।

यस वर्ष दीपमालिका एवं लक्ष्मीपूजा पर्व पनि कात्तिक ७ गते सोमबार नै रहेको उनले बताए। लक्ष्मीपूजाको रात्रिलाई सुखरात्री पनि भनिन्छ। कात्तिक ८ गते मङ्गलबार गाईपूजा गरिन्छ। यस दिन सूर्यग्रहण पनि परेको छ।

कात्तिक ९ गते बुधबार गोवर्द्धनपूजा, बलिपूजा, हलितिहार, गोरुपूजा, आत्मपूजा (म्हपूजा) का साथै नेपाल संवत्को नयाँ वर्ष आरम्भ पनि यसै दिन परेको छ। कात्तिक ९ गते बुधबार नेपाल संवत् ११४३ आरम्भ हुँदै छ।

कात्तिक १० गते बिहीबार तिहारको मुख्य दिन हो। यस दिन दिदीबहिनीले दाजुभाइलाई टीका लगाई आशीर्वादसहित दीर्घायुको कामना गर्दछन्। नेवारी समुदायले किजापूजाका नाममा मनाउने पर्व पनि यसै दिन परेको समितिले जनाएको छ।

यस दिन साइत खोज्नेले बिहान ११ : ३७ बजे उत्तर फर्केर टीका लगाउनु उत्तम रहेको समितिले जनाएको छ।

राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताउनुभयो । सर्वसाधारणका लागि त्यस दिन दिनभर टीका लगाउनु शुभ रहेको छ। रासस


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा