शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

अन्ततः उम्मेदवारी दर्ता गर्ने दुई दिन अघि फुट्यो गठबन्धन !


  • शुक्रबार, असोज २१ २०७९
8.4K
SHARES

फाइल तस्विर

काठमाडाैँ । सर्वोच्च अदालतको परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले घोषणा गरेको मंसिर ४ गतेको प्रतिनिधीसभा र प्रदेश सभाको निर्वाचनका लागी समानुपातिक तर्फको उमेदवारको बन्द सुचि निर्वाचन आयोगमा बुझाइ सकेर प्रत्यक्ष तर्फको उमेदवारी दर्ता गर्ने दुई दिन अघि सत्ता गठबन्धन फुटेको छ।

शेरबहादुर देउवालाई सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्री बनाउन बनेको गठबन्धन मध्येको एक प्रमुख दल जसपाले गठबन्धनबाट बाहिरिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सँग सहकार्यको हात अघि बढाएको छ ।

एमाले र जसपाका विचमा चुनावी तालमेलको सैद्धान्तीक सहमती भइसकेको छ भने आजै सहमतीपत्रमा हस्ताक्षर गर्ने तयारी गरिएको छ । एमालेको तर्फबाट एमाले अध्यक्ष ओली र जसपाको तर्फबाट अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गर्ने गरी ड्राफ्ट तयार हुँदै गरेको खबर छ । एमाले सचिव रघुवीर महासेठको घरमा सहमतीको अन्तिम ड्राफ्ट बनिरहेको बताइएको छ ।

एमाले नेताहरुका अनुसार जसपा र एमालेबीच चुनावी तालमेलको ‘फाइनल टच’ केहि बेरमा हुने भएको छ। एमाले उपमहासचिव प्रदीप ज्ञवालीका अुनसार २० देखि २२ सिटमा सघाउने गरी दुई दलबीच सहमति हुन लागेको हो।

शुक्रबारै दिनभरमा सहमति भइसक्ने ज्ञवालीलेजानकारी दिए। उनले भने, ‘करिब २० देखि २२ सिटसम्ममा लगभग सहमति भएको छ। सहमति नजिक भएकाले आज दोहोरो दाबी भएका क्षेत्रमा सहमति गरेर फाइनल गर्छौं।’

एमालेको इच्छा पाँचदलीय सत्ता गठबन्धन टुटोस् भन्ने छ। जसपा नेताहरु पनि कांग्रेस–माओवादीले अपमान गरेको भन्दै एमालेसँग मिल्न तयार देखिएका छन्।

पाँचदलीय सत्ता गठबन्धनबाट जसपा बाहिरियो भने सबैभन्दा बढी खुशी नेकपा एमाले नै हुनेछ। यही कारण एमाले नेताहरु उपेन्द्र यादवका लागि बालकोटमा रातो कार्पेट ओछ्याउन तयार भएका हुन्।

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्ड उपेन्द्र यादवलाई फकाउन दसैं नभनी खटिरहेकै छन्। टीकाका दिनसमेत बालुवाटारमा जसपा नेतालाई बोलाएर फकाउने प्रयास गरिएको थियो। तर, जसपाले भने एमालेसँग समेत तालमेलका लागि सम्वाद अगाडि बढाइसकेको अवस्था छ।

०७४ को चुनावपछि मधेस प्रदेशमा मधेस केन्द्रित दलहरुको सहकार्यमा सरकार बनेको थियो। अरु प्रदेशमा जस्तो त्यहाँ मुख्यमन्त्रीको फेरबदल भएन र सरकारले स्थायित्व पायो। तर, अहिले लोसपा र जसपा फुटेको अवस्था छ।

अहिलेको स्थितिमा मधेस प्रदेशबाट कांग्रेस, एमाले र माओवादीले चुनावी फाइदा लिन खोजेका छन् भने उपेन्द्र यादवचाहिँ मधेसमा आफ्नो पार्टीको बर्चस्व कायमै राख्ने रणनीतिमा छन्। यसका लागि एमालेसँग मिल्दा बढी लाभ हुने विश्लेषण जसपा नेताहरुको छ।

त्यसो त दसैंको टीकाको दिन नेपाली कांग्रेसका नेताहरुले बालुवाटारमा जसपा र एकीकृत समाजवादीका नेताहरुसँग बेग्लाबेग्लै बसेर सहमति जुटाउने प्रयास गरेका थिए। तर, त्यो प्रयास सफmल नभएपछि उपेन्द्र यादव कार्यदलका सदस्यहरुलाई समेत लिएर बिहीबार साँझ बालकोट पुगेका हुन्।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा