धरान । जनजनको मनमनमा बसेका धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले जनप्रिय कामहरू गरिरहेका छन् । श्रमदानको अभियान नै चलाएर धरानको विकासमा लागेका साम्पाङले देशको नै ध्यान खिच्ने गरी अर्को कमालको काम गरेका छन् ।
मेयर हर्क साम्पाङलाई भेट्न पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सर्दुमा वृक्षारोपण गर्न लगाएसंगै अर्को कमालको का गरेका हुन् ।
जनवादी गायक जेबी टुहुरेको स्मृतिमा धरान पुगेका अध्यक्ष प्रचण्ड मेयर हर्क साम्पाङलाई भेट्न धरान उपमहानगरपालिका पुगेका थिए । भेटघाटसंगै साम्पाङले अध्यक्ष प्रचण्डलाई वृक्षारोपणमा सहभागी गराएका हुन् ।

सो पश्चात् बोल्दै प्रचण्डले धरानका मेयर हर्क साम्पाङ्बाट धेरै प्रेरणा लिन सकिने बताएका छन्।
उनले कम्युनिस्ट पार्टीले गर्नुपर्ने काम गरिरहेकाले पार्टी पंक्तिलेनै प्रेरणा लिन सक्ने प्रचण्डको भनाई छ।‘हर्कले कम्युनिस्ट पार्टी अझ भनौँ माओवादीले गर्नुपर्ने काम गरिरहनुभएको छ। उहाँबाट हाम्रा पार्टीका साथीहरूले प्रेरणा लिन सक्नुहुन्छ,’ उनले भने ।
जनतासँग सधैँ जोडिएर काम गर्न प्रचण्डले हर्कलाई सुझाएका छन्।‘जनतासँग जोडिएर काम गर्नुस्। सधैँ जनतासँगै रहनुस्। अझै राम्रो काम गर्नुस्। मेरो शुभकामना,’ प्रचण्डले भने।
‘उहाँको कामलाई सिंगै देशले बढो गम्भीरतापूर्वक हेरेको छ । म के भन्न चाहन्छु भने हामी कम्युनिस्टहरूले र अझ खास गरी माओवादीले गर्नुपर्ने काम उहाँले गरिराख्नुभएको छ । म पार्टीका साथीहरू र देशका सबै श्रमजीवी जनतालाई पनि हर्कको व्यवहार र उहाँको आचरणबाट प्रेरणा लिन अनुरोध गर्न चाहन्छु’, प्रचण्डले भने ।
प्रचण्डले यसो भनिरहँदा मेयर साम्पाङ खित्का छोडेर हाँसेका थिए ।
जवाफमा हर्कले आफू सधैँ जनतासँगै जोडिएर काम गर्ने बताएका छन्।‘हवस् सर म सधैँ जनतासँगै जोडिएर काम गर्छु,’ उनले प्रचण्डसँग भने ।
गत साता मेयर साम्पाङ र उपमेयर अइन्द्रबिक्रम बेघा राजधानी जादा प्रचण्डसँग भेट गरेका थिए। उक्त भेटमा प्रचण्डलाई धरानमा श्रमदान तथा वृक्षारोपण अभियानमा सहभागी हुन आउन मेयर साम्पाङले निम्तो दिएका थिए।